कांग्रेसले बनायाे ३७ सदस्यीय कार्यसम्पादन समिति, महिला ४, दलित १ मात्रै (नामावली)

मूलखबर संवाददाता
काठमाडौं, १५ माघ

सत्तारूढ दल नेपाली कांग्रेसले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले शुक्रबार सभापति शेरबहादुर देउवाद्वारा प्रस्तावित कार्यसम्पादन समितिलाई अनुमोदन गरेको हो ।

समितिमा १३ जना पदेन पदाधिकारीबाहेक २४ सदस्य मनोनयन गरेका छन् । जसमा ४ जना मात्रै महिला र १ जना मात्रै दलित परेका छन् ।  कार्यसम्पादन समिति गठनमा वरिष्ठतालाई प्रमुख आधार बनाएकाे बताइएको  छ ।

कार्यसम्पादन समितिमा पुर्व पदाधिकारीहरू  रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, चित्रलेखा यादव, रामशरण महत, अर्जुननरसिंह केसी, प्रकाशशरण महत र सुनीलबहादुर थापा समेटिएका छन् ।

वरीयताका आधारमा केन्द्रीय सदस्यहरू शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, नारायण खड्का, जिपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुंगाना समिति सदस्य बनेका छन् । साउदभन्दा माथिल्लो वरीयतामा रहेका पद्मनारायण चौधरी र दिलेन्द्रप्रसाद बडू भने कार्यसम्पादन समितिमा छुटेका छन् ।

कांग्रेस विधानको दफा २३ मा ४७ सदस्यीय कार्यसम्पादन समिति गठन हुने प्रावधान छ । समितिमा १४ जना पदाधिकारी, प्रवक्ता र संसदीय दलका नेता पदेन सदस्य हुन्छन् । हाल कोषाध्यक्ष र प्रवक्ता मनोनीत भएका छैनन् भने संसदीय दलको नेता सभापति स्वयं छन् । दफा २३ (२) मा सभापतिले कार्यसमितिका सदस्यमध्येबाट समावेशी सिद्धान्तसमेतलाई ध्यानमा राखी ३१ सदस्य प्रस्ताव गर्ने उल्लेख छ । तर कार्यसम्पादन समितिमा महिला ४ जना मात्र छन् । दलित समुदायका सहमहामन्त्री जीवन परियार मात्र पदेन हैसियतले समितिमा पुगेका छन् ।