गाैतम बुद्व क्रिकेट रंगशाला अनुगमनमा पुगे खेलकुद मन्त्री

मूलखबर संवाददाता
चितवन, १३ माघ

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ले धुर्मुस–सुन्तली फाउण्डेशनले बनाएको निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्थलगत अनुगमन गरेका छन् ।

मन्त्री गहतराज काठमाडौंबाट आज चितवन पुगेर स्थलगत अनुगमन गरेका हुन् । तीन अर्ब लागतमा बन्न लागेको रंगशालाबाट धुर्मुस–सुन्तली फाउण्डेशनले हात झिकेपछि सरकारले आफै बनाउन लागेको हो ।

विभिन्न व्यक्ति वा संघसंस्थाको सहयोगमा बनाउन खोजेका धुर्मुस–सुन्तली भनेअनुसारको आर्थिक सहयोग नजुटेपछि हात झिकेका थिए । उनीहरुले हात झिकेपछि भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल संघीय सरकारको सहयोगमा बनाउने बताएकी थिइन् ।

धुर्मुस–सुन्तलीले १७ करोडभन्दा बढी ऋण लागेको र अब नसक्ने भनेर हात झिकेका थिए । निर्माणाधीन क्रिकेट रंगशालामा मेयर दाहाल र फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस पनि पुगेका छन् । धुर्मुसले रंगशालाको अवस्था, भौतिक प्रगतिलगायतबारे ब्रिफिङ गरेका छन् ।