करिब चारमहिना लामाे उपचारपछि अनन्त स्वदेश फिर्ता, `महासचिवमा स्वभाविक दाबि तर सहमति स्विकार्य´- अनन्त

मूलखबर संवाददाता
काठमाडौं, १० माघ

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्त करिब चार महिना लामाे उपचारपछि स्वदेश फिर्ता भएका छन् ।

पुर्व अर्थ, उर्जा मन्त्री तथा स्थायी समिति सदस्य अनन्त वंशाणुगत जन्डिसकाे गम्भीर प्रकारकाे राेगकाे उपचारको लागि थाइल्यान्ड र चिनमा उपचारपश्चात स्वास्थ्य लाभ गरि फर्केका हुन् ।

चीनमा उपचार गरी सोमबार साँझ कार्गाे फ्लाइटमा काठमाडौं ओर्लिएका नेता पुनलाई स्वागत गर्न नेता पुर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, खेलकुद मन्त्री महेश्वर गहतराजलगायतका नेता कार्यकर्ता त्रिभुवन विमानस्थल पुगेका थिए ।

जिवनसाथि पुर्व सभामुख ओनसरी घर्तीसहित फिर्ता भएका नेता अनन्तले आफू पार्टी महासचिवकाे याेग्य उमेदवार भएको बताएका छन् । उनलेे  विगतमा सचिव भएर काम गरेकाले अहिले आफू महासचिवको स्वभाविक दाबेदार भएको बताएका हुन् । आफ्नो दाबेदारी प्रस्तुत गर्दा पार्टीभित्रको सहमतिलाई पनि स्वीकार गर्ने नेता पुनले बताए ।

माओवादी केन्द्रको ८ औं महाधिवेशनको क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि नेता पुनले पदाधिकारीमा इच्छा व्यक्त गरेको कुरा अरु नेताहरूमाझ राखेका थिए । माओवादीको ८ औं महाधिवेशनबाट अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डसहित  केन्द्रीय कमिटी चयन भए पनि पदाधिकारी चयन भने थाती नै छ ।

पार्टीमा मैले महासचिवमा दाबी गरेको हुँ । विगतमा पनि सचिव भएर काम गरेको थिएँ। त्यसकारण महासचिवमा मेरो दाबेदारी स्वभाविक हो,’ नेता पुनले भने ।

उनले पार्टीको सबै तहमा समझदारीबाटै नेतृत्व चयन भएर आएको अवस्थाले आन्तरिक एकता र समझदारीबाट पाएको जिम्मेवारी आफूले स्वीकार गर्ने पनि बताए ।

सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग उनले यस्तो प्रतिक्रिया दिएका हुन् । पुनले भने ‘छलफल हुँदै गर्दा कहाँनेर फिट हुने भन्ने कुरा समझदारीबाट गर्न सकिन्छ भन्ने मलाई लाग्छ ।’ पूर्व अर्थमन्त्रीसमेत रहेका नेता पुन झण्डै ४ महिना लामो उपचार सकेर नेपाल फर्किएका हुन् ।

दुर्लभ वंषाणुगत जण्डिसबाट ग्रसित नेता पुन उपचारको लागि गत असोज १३ गते थाइल्याण्डको बैंकक गएका थिए । बैंककपछि थप उपचारका लागि उनी चीनको सेन्जेनमा रहेको थर्ड पिपुल्स हस्पिटलमा गएका थिए ।