सरकारकाे छ महिना पुग्दा प्रधानमन्त्रीकाे सम्बाेधन: `हामीले यसमै सन्तोष गर्ने अवस्था छैन´

मूलखबर संवाददाता
काठमाडौं

आफ्नो नेतृत्वमा सरकार बनेको ६ महिना पुगेको अवसरमा प्रधानमन्त्री शेर बहादुर देउवाले टेलिभिजनमार्फत देशवासीलाई सम्बोधन गर्नुभएकाे छ ।

देउवाले वर्तमान सरकारले छोटो अवधिमा गरेका कार्य र हासिल भएका उपलब्धिले मुलुकमा राजनीतिक स्थायित्वसँगै विकास, सुशासन र समृद्धि हासिल गर्ने बलियो आधार खडा गरेको बताउनुभएको छ । उहाँले सरकारले कार्यभार सम्हालेको छ महिनाको अवधिमा भएका कार्य र हासिल भएका उपलब्धिले सरकार सही दिशामा अघि बढिरहेको स्पष्ट भएको र जनतामा आशा र भरोसा बढेको उल्लेख गर्नुभएको छ।

प्रधानमन्त्री देउवाले आज अपराह्न राष्ट्रका नाममा सम्बोधन गर्दै भन्नुभयो, ‘हामीलाई यसमै सन्तोष गर्ने अवस्था छैन । एक्काइसौँ शताब्दीको द्रुतगतिमा अघि बढिरहेको प्रतिस्पर्धी युगमा विकास र समृद्धिको यात्रालाई हामीले थप गतिका साथ चाँडै पूरा गर्नुपर्ने खाँचो छ ।’ यस अवधिमा सरकारलाई प्राप्त भएको राष्ट्रिय तथा अन्तरराष्ट्रिय समर्थन, सहयोग र सहायताका लागि सबै राजनीतिक दल, नागरिक समाज, सञ्चार जगत एवम् सर्वसाधारण सबै एवं सम्बन्धित मित्रराष्ट्रहरू, दातृ निकाय तथा विकास साझेदार संस्थाप्रति उहाँले आभार व्यक्त गर्नुभयो ।

गत असार २९ गते उहाँको नेतृत्वमा पाँच राजनीतिक दलको समर्थन र सहभागितामा वर्तमान सरकार गठन भएको छ महिना पूरा भएको छ । संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमका आधारमा सरकारले कार्य सञ्चालन गर्दै आएको छ ।

सङ्क्रमण रोकथामा सहयोग गर्न अपिल

विश्व कोभिड–१९ महामारीको प्रथम, दोस्रो र तेस्रो लहरबाट आक्रान्त भएको उल्लेख गर्दे प्रधानमन्त्री देउवाले हामी पनि सङ्क्रमणको उच्च जोखिममा रहेकाले आर्थिक तथा सामाजिक क्षेत्रमा गम्भीर प्रभाव पर्न गएको बताउनुभएको छ ।

‘सङ्कुचित रहेका आर्थिक तथा सामाजिक क्रियाकलाप मेरो नेतृत्वको सरकारले कार्यभार सम्हालेपछि सूचारु भएका थिए’, उहाँले भन्नुभयो, ‘तर, केही दिनदेखि कोभिड–१९ को नयाँ स्वरुपको सङ्क्रमणको उच्च जोखिमले नागरिकको जीवन रक्षामाथि पुनः चुनौती थपेको छ । हामी सबै मिलेर आर्थिक तथा सामाजिक क्रियाकलापमा कम असर पर्ने गरी यस रोगको नियन्त्रण गर्नु छ ।’

कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले सबै देशवासीमा संयम् र धैर्यताका साथ जनस्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै सुरक्षित जीवनयापनको लागि अनुरोध गर्दै प्रधानमन्त्री देउवाले कोभिड–१९ को कारण मृत्यु हुनु भएकाप्रति श्रद्धाञ्जलि र परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

होम आइसोलेशनमा बस्नु भएका र अस्पतालमा उपचार गरिरहनु भएका बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँले यो शताब्दीकै डरलाग्दो माहामारी विरुद्धको लडाईँमा दुई वर्षदेखि निरन्तर खटिनु भएका चिकित्सक, नर्स, प्यारामेडिक्स, सुरक्षाकर्मि, सफाइकर्मी, एम्वुलेन्स चालक र अन्य सबै अग्रपङ्कितमा काम गर्नेहरूप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ ।

सबै राजनैतिक दल र समुदाय तथा सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा सरकारले जारी गरेका स्वास्थ्य सुरक्षाका मापदण्डको इमान्दारीपूर्वक पालना गरी यस रोगको रोकथाम, नियन्त्रण, निदान र उपचारमा सरकारलाई सहयोग गर्न उहाँले अपिल गर्नुभएको छ ।

‘तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व छ’

संविधानको कार्यान्वयन, कानुनी राज्य र सुशासनको प्रत्याभूति, शान्ति प्रक्रियालाई पूर्णता दिन विस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार तथा विभिन्न पक्षसँग भएका सहमतिको कार्यान्वयन गर्ने, राजनीतिक दलको सहमतिमा नागरिकताको समस्याको समाधान गर्ने, सङ्घीयता कार्यान्वयन एवं प्रदेश र स्थानीय तहका सरकारलाई सबलीकरण गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री देउवाले संसद्‍मा रहेका सबै राजनैतिक दलसँग संवाद र सहमतिका माध्यमबाट संसद्को गतिरोध अन्त्य गरी विचाराधीन विषयलाई निष्कर्षमा पु¥याइने उल्लेख गर्नुभयो । एक वर्षभित्रै तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारमाथि रहेको उल्लेख गर्दै उहाँले निर्वाचनका पूर्वतयारीका काम सम्पन्न गर्न सम्बन्धित सबैसँग अनुरोध गर्नुभएको छ ।

‘मैले सरकारको नेतृत्व गरेपछि आर्थिक–सामाजिकरूपान्तरणको आधार निर्माणका लागि उच्च र समन्यायिक आर्थिक विकासमा जोड दिने, उत्पादनमुखी अर्थतन्त्रलाई प्रवद्र्धन गर्ने, स्वदेशी कच्चापदार्थ र श्रम उपयोग हुने निकासीजन्य वस्तुको उत्पादन वृद्धि गरी निकासी बढाउने, आपूर्ति व्यवस्थामा सुधार गर्ने, महङ्गी नियन्त्रण गर्ने तथा भ्रष्टाचारजन्य कार्यको छानबिन, अनुसन्धान र तहकिकातका लागि अग्रसरता लिने कार्य भएका छन्’, उहाँले भन्नुभयो ।

यस अवधिमा विगत दुई वर्षदेखि कोभिड–१९ का कारण सङ्कटग्रस्त उद्योग र सेवा व्यवसायको उत्थान गर्न र श्रमजीवी, विपन्न, बेरोजगार आदिको राहतका लागि विशेष आर्थिक प्याकेज ल्याइएको बताउँदै उहाँले बाढी, पहिरो, आगलागी तथा बेमौसमी वर्षाका कारण विपद्मा परेका जनतालाई उद्वारगरी राहत उपलब्ध गराउने, सुरक्षित बसोबास र पुनःस्थापना गराउने तथा नष्ट भएको धान बालीको क्षतिपूर्तिका लागि आवश्यक सहयोग प्रदान गर्ने कार्यक्रम अघि बढाइएको जानकारी गराउनुभयो । सरकारले रूपान्तरणकारी र विकासका कार्यक्रमको कार्यान्वयनलाई गति दिएको छ ।

सम्बोधनका क्रममा देउवाले यसबीच आफू नेतृत्वको सरकारले गरेका कामहरुबारे चर्चा गरे । ‘सरकार सही दिशामा अघि बढिरहेको स्पष्ट छ । छोटो अवधिमा गरिएका कार्य र हासिल भएका उपलब्धिले मुलुकमा राजनीतिक स्थायित्वसँगै विकास, स्थायित्व र समृद्धि हासिल गर्ने बलियो आधार खडा भएको छ,’ उनले भने– ‘जनतामा आशा र भरोसा बढेको छ ।’