
अमेरिकामा एकैदिन १० लाख संक्रमित, भारतमा पनि कडाई
अमेरिकामा एकै दिन १० लाख भन्दा बढी कोरोनाभाइरस सङ्क्रमित थपिएका छन्।
तर तीव्र गतिमा फैलिरहेको ओमिक्रोन भेरिअन्टको लहर अझै उच्च विन्दुमा पुग्न बाँकी नै रहेको अधिकारीहरूले चेतावनी दिएका छन्।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सोमवार एकै दिनमा विश्वको कुनै पनि देशको तुलनामा सर्वाधिक अमेरिकामा १० लाख ८० हजार सङ्क्रमित थपिएका छन्।
हाल अमेरिकामा पुष्टि भएका सङ्क्रमित मध्य अधिकांशमा ओमिक्रोन भेरिअन्ट पाइएको छ।
भारतको राजधानी नयाँ दिल्ली र अर्को ठूलो सहर मुम्बईमा पनि कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या बढ्दो क्रममा छ।
मङ्गलवार भारतमा ३७ हजार भन्दा बढी सङ्क्रमित थपिएका छन् जुन एक सातामा पाँच गुणा वृद्धि रहेको विज्ञहरूले बताएका छन्।
धेरैमा ओमिक्रोन भेरिअन्ट पुष्टि भएको बताइएको छ। कुल सङ्क्रमित मध्य झन्डै एक तिहाइ दिल्ली र मुम्बईमा छन्।
खोप सम्बन्धी एउटा कार्यदलका प्रमुख डा एनके अरोराले सोमवार एनडीटीबीलाई भारतमा कोभिड महामारीको तेस्रो लहर सुरु भइसकेको बताएका छन्।
कोभिड सङ्क्रमण फैलने क्रम बढ्दै गएसँगै राज्य सरकारहरूले पुनः प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गर्दै छन्।
मङ्गलवार भारतको राजधानी दिल्लीका अधिकारीहरूले सप्ताहान्तमा कर्फ्यू लगाउने निर्णय गरेका छन्।- बीबीसी
