देउवाकाे पुगेन ५०%, चुनाव दाेश्राे चरणमा प्रवेश, यस्तो छ मतपरिणाम

मूलखबर संवाददाता
काठमाडौं, २९ मंसिर

कांग्रेसको सभापति चुनाव दोस्रो चरणमा प्रवेश गरेको छ । पहिलो चरणमै जित निकाल्न शेरवहादुर देउवालाई ८२ मत नपुगेको हो । सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए ।

महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । पहिलो चरणमै जित निकाल्नका लागि बहुमत अर्थात् २३४० मत आवश्यक थियो । तर, सभापतिका प्रत्याशी कसैले पनि बहुमत प्राप्त गर्न सकेनन् ।

पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका छन् । उनले ८२ मतले ५० प्रतिशत कटाउन सकेनन् । कोइरालाले १७२९, सिंहले ३७१ निधिले २४९ र गुरुङले २०मत प्राप्त गरेका छन् ।

कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात् ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ । यदि कसैले पनि ५० प्रतिशत नकटाएको अवस्थामा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई प्रतिस्पर्धीकाबीच पुनः मतदान गराउनुपर्ने व्यवस्था छ ।