एमालेमा मापदण्डबिना ओलीले बनाए बरियता, नेताहरू असन्तुष्ट

मूलखबर संवाददाता
काठमाडौं, २७ मंसिर

प्रमूख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘बिनामापदण्ड’ राखेको प्रस्तावमा केन्द्रीय सदस्य मनोनयन, पोलिटब्युरो तथा स्थायी कमिटी गठन र कार्यविभाजन गरिएको भन्दै एमाले नेताहरू असन्तुष्ट बनेका छन् । ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्दा तथा ९९ सदस्यीय पोलिटब्युरो र ४५ सदस्यीय स्थायी कमिटी बनाउँदा छलफल नगरिएको भनी ओलीनिकट नेताहरूले समेत गुनासो गरेका छन् ।

भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा ओलीले नाम प्रस्ताव गरेलगत्तै उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीका साथै उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मापदण्डबिनै नाम आएको भन्दै विरोध जनाएका थिए । ‘कम्तीमा १९ पदाधिकारीबीच छलफल गरेर मापदण्ड बनाउनुपर्थ्यो । त्यसो गर्दा सबैले चित्त बुझाउने ठाउँ हुन्थ्यो । पार्टीलाई सामूहिक नेतृत्वमा चलाउनुपर्छ,’ बैठकमा ज्ञवालीले भनेका थिए ।

उपाध्यक्ष शाक्यले अध्यक्षको प्रस्तावले पार्टीमा न्याय नभएको भन्दै असन्तुष्टि जनाएकी थिइन् । ‘महत्त्वपूर्ण कमिटी गठन र केन्द्रीय सदस्यको मनोनयनमा अध्यक्षले सल्लाह गरेको भए सजिलो हुन्थ्यो । यसअघि छलफल र सल्लाह भएन । मूल्यांकनको परिपाटी हिजो थियो । आज त्यसलाई नजरअन्दाज गरियो,’ शाक्यको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ।

अध्यक्ष ओलीले व्यक्तिगत निर्णय लिएको भन्दै उपमहासचिव गुरुङले असन्तुष्टि जनाएका थिए । मापदण्ड नबनाई व्यक्तिगत निर्णय गर्दा वरिष्ठ नेताहरूसमेत पोलिटब्युरोमा छुटेको उनको भनाइ थियो । ‘विधिसम्मत तरिकाले छलफलबाट सबै टुंग्याउनुपर्थ्यो । व्यक्तिगत निर्णय लिनु गलत हुन्छ । पार्टीलाई सामूहिक निर्णय प्रणालीमा लैजानुपर्छ,’ गुरुङले भनेका थिए । केन्द्रीय सदस्यको मनोनयन र पोलिटब्युरो गठनमा उपाध्यक्ष सुवास नेम्वाङ, सचिव गोकर्ण विष्ट र योगेश भट्टराई तथा स्थायी कमिटी सदस्य घनश्याम भुसालले पनि असन्तुष्टि राखेका थिए । नेम्वाङले इलामबाट मणि लिम्बूलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नुपर्ने बताएका थिए । भुसालले अन्यायपूर्ण र अपमानपूर्ण प्रस्ताव आएको टिप्पणी गरे ।

केन्द्रीय सदस्य भगवती चौधरीले कार्यविभाजनमा अन्याय भएको बताइन् । ‘मभन्दा जुनियरलाई कुन मापदण्डबाट पोलिटब्युरो बनाइयो रु’ उनले कान्तिपुरसँग भनिन् । केन्द्रीय सदस्यहरू श्रीमाया थकाली, टुका हमाल, ममता गिरी, लालबहादुर थापालगायतका नेता पनि पोलिटब्युरोमा नपरेपछि असन्तुष्ट छन् ।

‘पूर्वमाओवादी समूहको असन्तुष्टि छैन । पहिला माधव नेपालको पक्षमा रहेर काम गरेकाहरूमाथि प्रतिशोध साधियो । यसले राम्रो पक्कै गर्दैन,’ एक नेताले भने । केन्द्रीय सदस्य नीरज आचार्यले कार्यविभाजनप्रति लिखित रूपमा नै असन्तुष्टि राखेका छन् ।

बैठकले केन्द्रीय पदाधिकारीको वरीयताक्रम पनि तय गरेको छ । अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलपछि उपाध्यक्षको पहिलो वरीयतामा युवराज ज्ञवाली छन् । त्यसपछि उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ र सुरेन्द्र पाण्डे छन् । महासचिव शंकर पोखरेलपछि तीन उपमहासचिवमा प्रदीप ज्ञवाली पहिलो वरीयतामा छन् । दोस्रोमा पृथ्वीसुब्बा गुरुङ र तेस्रोमा विष्णु रिमाल छन् । सचिवमा पूर्वमाओवादी नेता टोपबहादुर रायमाझी पहिलो र लेखराज भट्ट दोस्रो वरीयतामा छन् । त्यसपछि रघुवीर महासेठ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, योगेश भट्टराई, पद्मा अर्याल छन् । एक नेताका अनुसार सचिव विष्ट र भट्टराई वरीयता र कार्यविभाजनप्रति असन्तुष्ट रहेको खबर कान्तिपुरमा छ ।