जनगणना जारी : गणक घरघरमा, उत्साहजनक जनसहभागीता
मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक शुरू गरिएको जनगणना देशभर जारी छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बिहान ९:३० मा आफ्नो परिवारको विवरण टिपाएसँगै १२ औं राष्ट्रिय जनगणना सुरु भएको थियाे । ‘मेरो जनगणना, मेरो सहभागिता’ नारासहित जनगणना मंसिर ९ मा सकिनेछ । मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक जनगणना गर्न लागिएको हो ।
जनगणनाका लागि देशभर ८ हजार ५ सय सुपरीवेक्षक र ४० हजार गणक कर्मचारी खटाइएका छन् । एक जना गणकले कम्तीमा दिनमा १२ परिवारको लगत लिनुपर्ने हुन्छ । जनगणनाको १५ दिने अवधिमा एक जना गणकले सरदर १ सय ७५ घरपरिवारको लगत लिनुपर्नेछ । ‘एक जना गणकले एउटा परिवारसँग औसत २० मिनेटमा प्रश्नावली सोध्नेछ,’ तथ्यांक विभागमा महानिर्देशक नेबिनलाल श्रेष्ठले भने, ‘घरमूलीलाई जनगणनाको महत्त्व बुझाउनुपर्नेसमेत भएकाले कतिपय ठाउँमा ४० मिनेट पनि लाग्न सक्ला ।’ जनगणनाका लागि सरकारले ४ अर्ब रुपैयाँ बजेट छुट्याएको छ ।
जनगणनाका क्रममा प्रत्येक परिवारलाई ८० वटा प्रश्न सोधिँदै छ । यी प्रश्नलाई पहिलो चरणमा ‘घर तथा घरपरिवार सूचीकरण’ र दोस्रो मूल जनगणनामा ‘मुख्य प्रश्नावली’ र ‘सामुदायिक प्रश्नावली’ गरी तीन किसिमले विभाजन गरिएका छन् । पहिलो चरण ‘घर तथा घरपरिवार सूचीकरण’ भदौ ३० मा सुरु भएर असोज १८ मा सम्पन्न भइसकेको छ । गणकहरूले मुख्य प्रश्नावली लिएर प्रत्येक परिवारको मूलीसँग सोध्नेछन् ।
यसअन्तर्गत घर तथा परिवारमूलीको नाम, परिवार सदस्यका नाम, लिंग, उमेर, जन्ममिति र महिना, ५ वर्षमुनिको जन्मदर्ता, जातजाति, पुर्खाको भाषा, मातृभाषा, दोस्रो भाषा, धर्मलगायत करिब ५० वटा प्रश्नको सोधेर विवरण लिने छन् । ‘कानुनबमोजिम प्रत्येक व्यक्ति र परिवारले जनगणनामा सहभागी भएर आफ्नो सही विवरण दिनु अनिवार्य छ । विवरण नदिनेमाथि कानुनी कारबाही हुन सक्छ,’ महानिर्देशक श्रेष्ठले भने, ‘आम नागरिकको सहभागिताबिना राष्ट्रिय जनगणना हुन सक्दैन । तथ्यांक ऐनअनुसार हरेक व्यक्तिको विवरण गोप्य रहन्छ ।’ जनगणनामा विदेशमा रहेका परिवारका सदस्यहरूको समेत विवरण लिइनेछ ।