दशैं : टीकाकाे साइत नेपालमा विहान १०:०२ मा, काेराेनाकाे त्रास कायमै

मूलखबर संवाददाता
काठमाडौं

आज हिन्दुहरूकाे महान् चाड बडादशैंको मुख्य दिन अर्थात् विजया दशमीका दिन विभिन्न देशमा बसोबास गर्ने नेपालीहरूले मान्यजनहरूबाट टीका र जमरा थापेर आशीर्वाद लिँदै मनाइन्छ।

नेपालबाहिर बसोबास गर्ने नेपालीहरूका लागि अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले टीका लगाउने उत्तम साइत सार्वजनिक गरेको छ। समितिका अध्यक्ष प्राडा माधवप्रसाद भट्टराईले धेरै नेपालीको बसोबास रहेका क्षेत्रबाट माग भएबमोजिम सम्बन्धित देशको ग्रहको दृष्टिअनुसार टीका लगाउने समय यकिन गरिएको बताए।

समितिका अनुसार नेपालमा टीका लगाउने उत्तम साइत शुक्रबार बिहान १०:२ बजे रहेको छ। यस्तै‚ भारतको देहलीमा १५ अक्टोबरको दिन बिहान ९:५५ बजे उत्तर साइत रहेको छ।

क्यानडाको टोरन्टोमा १५ अक्टोबरको दिन बिहान ८:३५ बजे‚ जापानको टोकियोमा १५ अक्टोबरको दिन बिहान ११:५ बजे उत्तम साइत रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

किम्बदन्तीअनुसार दशमीकै दिन दुर्गा भवानीले दानवी शक्तिमाथि तथा रामले रावणमाथि विजय हासिल गरेका थिए। सत्यले असत्यमाथि विजय पाएका कारण यस दिनलाई विजया दशमी भनिन्छ।

घटस्थापनाको दिनदेखि विधिपूर्वक घरघरमा आह्वान गरी पूजाआराधना गरिने दुर्गादेवीलाई आजकै दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिन्छ। देवीलाई बिहान ८:१९ बजे उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिए।