लुम्बिनी प्रदेश सरकारको नयाँ बजेट ल्याउने तयारी, कस्तो आउँदैछ बजेट

मूलखबर संवाददाता
लुम्बिनी, १९ असोज

लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउने अन्तिम तयारी गरेको छ । लुम्बिनी प्रदेश सभाको भोली बुधबार बस्ने बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्कालेनयाँ बजेट ल्याउने तयारी गरेका हुन् ।

खड्काले भोलि बस्ने बैठकमा प्रतिस्थापन विधेयकमार्फत बजेट पेश गर्ने तयारी गरेपछि यसले राजनीतिक वृत्तमा पनि तरंग ल्याएको छ । यसअघि एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारले आर्थिक वर्ष २०७८र७९ का लागि प्रस्तुत गरेको ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । तर सरकार अल्पमतमा परेकाले प्रदेश सभाबाट पारित गर्न नसकेपछि अध्यादेशबाट बजेट ल्याएको थियो ।

साउन २८ गते माओवादी केन्द्रका कूलप्रसाद केसी नेतृत्वमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद अजय शाहीसमेतको गठबन्धन सरकार बनेको थियो । नयाँ सरकार गठन भएको दुई महिना पुग्न लाग्दासम्म मन्त्रिपरिषदलाई पूर्णता दिन र नयाँ बजेट ल्याउन नसकेपछि सरकारको चर्को आलोचना हुँदै आएको थियो ।

अध्यादेशबाट ल्याइएको बजेटलाई संशोधन गरेर केही नयाँ कार्यक्रम थप गरी बजेट ल्याउन लागिएको सरकारका प्रवक्ता समेत रहेका मन्त्री खड्काले बताए । ‘भोलि प्रदेश सभा बैठक बस्दै छ, भोलि नै बजेट पेश हुन सक्छ’ खड्काले भने, ‘यसअघिको बजेटमा हाम्रो धेरै विषयमा विमति थियो, अब परिमार्जन गरेर नयाँ योजना र कार्यक्रमसहित ल्याउने तयारीमा छौं ।’ सरकारले जनपक्षिय र विभिन्न जनयुद्ध, आन्दोलन र युद्धमा पीडितहरुलाई राहत पुग्ने गरी बजेट ल्याउने बताइएको छ ।

लुम्बिनी प्रदेश बैंक स्थापना, मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम, बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि बहु(सांस्कृतिक डबली निर्माण तथा निजी क्षेत्रसँगको सहकार्यमा स्थानीय कच्चा पदार्थमा आधारित मायाको चिनो तथा उपहार सामग्री उत्पादन उद्योग स्थापना लगायतका नयाँ कार्यक्रम समेटेर बजेट ल्याउन लागिएको नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले बताए ।

यसअघिको बजेटमा चालूतर्फ १४ अर्ब ९३ करोड र पुँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख रुपैयाँ विनियोजन भएको थियो । बजेटको धेरै हिस्सा स्वास्थ्य, कृषि र पर्यटनमा केन्द्रित थियो ।

प्रदेश सभाको प्रमुख विपक्षी दल एमालेले भने बैठक अवरुद्ध गर्ने बताउँदै आएको छ । एमालेले स्वतन्त्र सांसद अजय शाही र गत बैशाख १९ गते माओवादी केन्द्र रोजिसकेकी विमला खत्री वलीलाई आफ्ना सांसद दाबी गर्दै उनीहरुलाई पदमुक्त गर्नुपर्ने मागसहित प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएको छ । अदालतमा विचाराधीन मुद्दामा प्रदेश सभामा कुरा उठाउन नपाइने भएपनि एमालेले कानून विपरीत गैरसंसदीय काम गरेको सत्ता पक्षको भनाइ छ ।