आज मन्त्रिपरिषद बैठक बस्दै , खारेज होला त दल विभाजन अध्यादेश ?

मूलखबर संवाददाता
काठमाडौं, ११ असोज ।

आज मन्त्रिपरिषदको बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज बेलुका ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

आजको बैठकबाट दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्ने सम्वन्धी निर्णय लिने देउवानिकट स्रोतले बतायो ।

आइतबार मात्र गठबन्धनका शीर्ष नेताको बैठक बसेको थियो । उनीहरुकै सहमतिअनुसार आज मन्त्रिपरिषद्को बैठकले अध्यादेश खारेजको निर्णय गर्ने बताइएको छ ।

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नहुँदा समाजवादी जनता पार्टी सरकारमा सहभागि हुन सकिरहेको छैन । अध्यादेश जारी भइरहेको बेला असन्तुष्ट सांसदहरुले २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने आशंकाका कारण सरकारमा सहभागि हुन नसेको सजपाका नेताहरुले बताउँदै आइरहेका छन् ।

आजको बैठकबाट अध्यादेश फिर्ता लिने राष्ट्रपतिबाट प्रमाणकिरण गराएपछि सरकार विस्तारको लागि देउवालाई सजिलो हुनेछ । श्रोतका अनुसार सम्भवत आज नभए भोली मन्त्रीपरिषद विस्तार हुन सक्नेछ ।