बजेट (विनियोजन विधेयक २०७८) बहुमतले पारित
प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल एमालेको विरोधका बीच (विनियोजन विधेयक २०७८) बजेट बहुमतले पारित भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गर्नका लागि लगेको प्रस्तावलाई सभामुखले निर्णयार्थ पेश गरेका थिए । अर्थमन्त्री शर्माले गत भदौ २५ गते बसेको प्रतिनिधिसभाको बैठकमा सो विधेयक प्रस्तुत गरेका थिए ।
सो विधेयक पारित गर्नुपूर्व सभामुख सापकोटाले मन्त्रालय, कार्यालय र सचिवालयगत खर्च शीर्षकमा छलफलका लागि नाम टिपाउनका लागि आग्रह गरेका थिए । विरोधको सूचना दर्ता गराएका नेमकिपाका सांसद प्रेम सुवालबाहेक अन्य सांसदहरुले नाम नटिपाएपछि सभामुखले अर्थमन्त्री शर्मालाई विनियोजन बजेट सम्बन्धमा उठेका प्रश्नको जवाफ दिन समय दिएका थिए ।
उनले ३ प्रतिशत बजेट मात्र हेरफेर गरिएको, अध्यादेशबाट आएको बजेटको आकारमा केही घटाएर बजेटलाई यथार्थपरक बनाएको बताए । साथै विभिन्न स्वास्थ्य समस्याका बिरामीलाई सहुलियतको व्यवस्था गरेको बताए । अर्थमन्त्रीको जवाफबारे सभामुखले स्पष्टिकरण राख्न समय दिएका थिए ।
यस्तै नेमकिपा सांसद सुवाललाई विभिन्न मन्त्रालयगत खर्च कटौतीको प्रस्ताव फिर्ता लिन समय दिएका थिए तर सुवालले सो प्रस्ताव फिर्ता नलिएपछि सभामुखले निर्णयार्थ प्रस्तुत गरेका थिए । प्रेम सुवालले राखेको खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।