संविधान रक्षा एवम् कार्यान्वयनका लागि सरकार प्रतिबद्ध
प्रधानमन्त्री शेरबहादुर देउवाले सातौं संविधान तथा राष्ट्रिय दिवसको अवसरमा आइतबार काठमाडौंको टुँडिखेलस्थित सैनिकमञ्चमा आयोजित विशेष समारोहमा सम्बोधन गर्नुहुदै संविधानको रक्षा एवम् कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
देशमा आमनागरिकको परिवर्तनको आवश्यकता, सशस्त्र संघर्ष, मधेस आन्दोलन लगायत विभिन्न आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संविधानले संस्थागत गरेको बताउनुभयो । संविधानको सफल कार्यान्वयन गर्दै देशमा दिगो विकास, सुशासन र विकासको लक्ष्य हासिल गर्नुपर्ने उहाँले बताउनुभएको छ ।
संविधान कार्यान्वयनका लागि आवश्यक नियमहरु बनाइदै लगिने विषयमा पनि प्रधानमन्त्री देउवाले प्रतिबद्धता जनाउनुभयो । उहाँले विश्वव्यापीरुपमा फैलिएको कोभिड (१९ महामारीको अवस्थामा नागरिकको जीवनरक्षाको प्रयास गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन सरकारको ध्येय रहेको उल्लेख गर्नुभयो ।
संविधानको कार्यान्वयनबाट नै सार्वभौमसत्ता, भौगोलिक अखण्डता, सुशासन, प्रेस स्वतन्त्रता, न्याय र समानतामा आधारित समाज प्राप्त गर्न सकिने उल्लेख गर्दै प्राप्त उपलब्धिहरुको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाले बताउनुभएको छ ।
प्रधानमन्त्री देउवाले देशको व्यवस्था परिवर्तनमा जीवन बलिदान गर्नुभएका शहिद एवम् घाइते, अपांग परिवारहरुप्रति सम्मान व्यक्त गर्नुभएको छ । समारोहमा उच्चपदस्थ पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।