न्यादी हाइड्रोपावरकाे IPO मा ६१ कराेडको आवेदन

मूलखबर संवाददाता
काठमाडौं

न्यादी हाइड्रोपावर कम्पनीको आईपिओको लागि आवेदन दिने अन्तिम दिन मंगलबारसम्म ६१ करोड रुपैयाँ बराबरको माग आवेदन परेको छ । अघिल्लो दिन सम्म ३७ करोड रुपैयाँको आवेदन परेको भए पनि अन्तिम दिन उक्त माग बढेर यति धेरै पुगेको हो ।
हाईड्रो पावर कम्पनीले सोमबार दिएको जानकारी अनुसार ६१ करोड १३ लाख ३ हजार ८ सय रुपैयाँ बराबरको माग आवेदन परेको जनाएको छ ।
न्यादीको पहिलो धितोपत्र निष्कासन अन्तर्गतको साधारण शेयर भदौ १ गतेबाट बिक्री खुल्ला भएको आईपीओ भर्ने समय हिजो भदौ १५ गते सकिएको छ ।
आयोजनाका अति प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको ५ लाख कित्ता शेयरको लागि २ हजार ९ सय ५३ जना आवेदकबाट १६ करोड ३७ लाख १८ हजार १ सय रुपैयाँ बराबरको माग आवेदन परेको छ । यसैगरी जिल्लाबासीका लागि छुट्याइएको १० लाख कित्ता शेयरको लागि २२ हजार २ सय ३८ जना आवेदकबाट ४४ करोड ७५ लाख ८५ हजार ७ सय रुपैयाँबराबरको माग आवेदन परेको न्यादी हाइड्रोपावरका जनसम्पर्क अधिकृत विजय गुरुङले जानकारी दिएका छन् ।
यो संख्या प्रारम्भिक नतिजा भएकोले छुट भएका केहि संख्या थपिन सक्नेछन् ।
अव एक व्यक्तिले प्राप्त गर्ने शेयर कित्ता खुम्चिने निश्चित छ । यसैलाई मात्र हिसाब गर्ने हो भने जिल्लाबासीको लागि बराबर कित्ता शेयर बाँडफाँड भएमा ४४ कित्ता पाउनेछन् । यदि बढी रकमको माग आवेदकलाई बढी र कम रकमको माग गरेका आवेदकलाई कम दिइएमा यो संख्या घट्नेछ ।
जिल्लाबासीको लागि कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका १० लाख कित्ता शेयर निष्कासन गरेको हो भने अति प्रभावित क्षेत्रका लागि ५ लाख र संस्थापक शेयरधनीका लागि ३ लाख कित्ता शेयर प्रारम्भिक चरणमा निष्कासन गरेको हो । यसपछि कम्पनीले सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने जनाएको छ ।