दार्चुलाकाे तुइन र जयसिंह मृत्यु प्रकरण : एसएसबीकाे संलग्नता पुष्टि

मूलखबर संवाददाता
काठमाडौं

दार्चुलाका युवा जयसिंह धामी महाकालीमा बेपत्ता भएको घटनामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) को संलग्नता पुष्टि भएको छ । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित छानबिन समितिले एक महिना लगाएर तयार पारेको प्रतिवेदनले एसएसबीका सुरक्षाकर्मीले घटना गराएको किटान गरेको छ ।

महाकाली नदी तर्दातर्दै तुइन खुस्काइदिने जघन्य अपराधमा एसएसबीका सुरक्षाकर्मी दोषी रहेको ठहरसहितको प्रतिवेदन आएपछि अब दोषीलाई कारबाही गराउने जिम्मेवारी नेपाल सरकारसामु आएको छ । आफ्ना नागरिकमाथि भएको यो मानवताविरोधी अपराधविरुद्ध बोल्न भने नेपाल सरकारले आनाकानी गर्दै आएको छ ।

तेस्रो पटक थपिएको म्याद मंगलबार सकिएपछि पनि तीन दिन थप्ने तयारी भएको थियो । तर, सुनियोजित रूपमा ढिलाइ गरेर देशलाई अलमलमा पार्न खोजिएको भन्दै सञ्चारमाध्यमबाट आवाज उठेपछि समितिले मंगलबार नै प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदनले घटनामा भारतीय एसएसबीका सुरक्षाकर्मी संलग्न रहेको किटानी नै गरेको गृहका एक अधिकारीले बताए । ‘व्यास गाउँपालिका–२, खाङदाङ मालका जयसिंह धामी महाकाली नदी तरेर गस्कु पुग्न केही दूरी मात्र बाँकी थियो तर भारतीय एसएसबीका दुई सुरक्षाकर्मीले तुइनको लट्ठा खुस्काइदिएकै कारण उनी भेलमा खसेर बेपत्ता भएका हुन्,’ प्रतिवेदनको विषयवस्तु उद्धृत गर्दै ती अधिकारीले भने, ‘यस तथ्यलाई समेत मध्यनजर गरी घटनाको अनुसन्धान भारततर्फबाट पनि गराई संलग्नलाई कारबाही र पीडितका परिवारलाई उचित क्षतिपूर्ति दिलाउन आवश्यक कूटनीतिक पहल गर्न सुझाव दिइएको छ ।’

नेपाली नागरिकमाथि अपराध भएको स्थान भारतीय भूमि भएकाले नेपालतर्फबाट अनुसन्धान गर्न कानुनी जटिलता रहेको निष्कर्ष समितिको छ । दार्चुलाको व्यास गाउँपालिकाका विभिन्न भूभागबाट नेपालको बाटो हुँदै सदरमुकामसम्म आउन सहज मार्ग निर्माण तथा पक्की पुल/झोलुंगे पुल यथाशक्य छिटो निर्माण गर्न पनि समितिले सुझाव दिएको छ ।

महिना दिन लामो अध्ययनपछि तयार पारिएको प्रतिवेदन बुझ्दै गृहमन्त्री बालकृष्ण खाँणले प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए । ‘प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ,’ खाँणले भने, ‘प्रतिवेदन कार्यान्वयन प्रक्रिया थाल्न गृह सचिवलाई निर्देशन दिन्छु ।’ मन्त्री खाँणले निर्देशन दिँदा सचिव टेकनारायण पाण्डे पनि कार्यक्रममै थिए । यससम्बन्धी विषय समेटेर गृह सचिव पाण्डेले बुधबार परराष्ट्रमा पत्राचारको तयारी गरेका छन् । यो विषय भारतीय पक्षसँग जोडिएकाले राजनीतिक र कूटनीतिकस्तरमा कस्तो पहल हुन्छ भन्ने तथ्य महत्त्वपूर्ण हुनेछ ।

प्रतिवेदन आएकाले अब भने दोषीलाई ढाकछोप गर्न सरकारलाई पनि गाह्रो छ । यद्यपि प्रतिवेदन बुझेपछि गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अस्पष्ट भाषा प्रयोग गरिएको छ । ‘घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकाले निजहरूको संलग्नताका सम्बन्धमा अनुसन्धान गरी दोषीउपर कानुनी कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न सिफारिस गरेको छ,’ गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा ‘एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा’ घटना भएको भनिए पनि उनीहरूको संलग्नताबारे अनुसन्धान गर्न भनिएको मात्र उल्लेख छ ।

दार्चुला प्रशासनले गृह मन्त्रालयमा आधिकारिक जानकारी दिएपछि गृहमन्त्री बालकृष्ण खाँणले साउन १७ मा सत्यतथ्य पत्ता लगाउन सहसचिव जनार्दन गौतमको संयोजकत्वमा नेपाल प्रहरीका डीआईजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेशकुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट सम्मिलित पाँच सदस्यीय छानबिन समिति गठन गरेका थिए । समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन भनिएकामा समय अपुग भएको भन्दै साउन २५, भदौ १ र ८ मा गरी तीन पटक म्याद थपिएको थियो ।

उता भारतीय पक्षले भने निरन्तर असहयोग गर्दै आए पनि नेपाल सरकारले कूटनीतिक पहलकदमी लिएको छैन । सीमावर्ती इलाकामा अपराध रोकथाम तथा नियन्त्रण र सूचना आदानप्रदान गर्न फिल्डमा नेपालतर्फ सशस्त्र प्रहरी बल (एपीएफ) र भारतमा सशस्त्र सीमा बल (एसएसबी) का आ–आफ्नै संयन्त्र छन् । यी निकायले कुनै विवाद अनौपचारिक छलफल वा औपचारिक बैठकबाट निरूपण गर्ने अभ्यास छ । तर, यति ठूलो घटना हुँदा पनि अनुसन्धानमा यी संयन्त्रबीच सार्थक बैठक भएको छैन ।

सुरक्षाकर्मीबाट समाधान नभएका समस्याबारे छलफल गर्न नेपालतर्फ प्रमुख जिल्ला अधिकारी र भारततर्फ डीएम (जिल्ला अधिकारी) रहेको साझा संयन्त्र हुन्छ । तर भारतीय प्रशासनले यो विषयमा बैठक र अनुसन्धान गर्नेभन्दा पनि असहयोग गर्ने र निष्क्रिय बस्ने रबैया देखाएको छ ।

तुइन खुस्काइएको स्थान मालघाटपारि भारतको पाङ्ला, गस्कु इलाकामा सब इन्स्पेक्टर (सई) को कमान्डमा एसएसबीका जवानहरू खटिन्छन् । घटना भएको दिन पनि एसएसबीका जवानहरू गस्कुमा खटिएको स्विकारोक्ति पिथौरागढका डीएम आनन्द स्वरूपले लिखित रूपमै गरेका छन् । दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले घटनाकै दिन लेखेको पत्रको जवाफमा डीएम स्वरूपले यो विषय उल्लेख गरेका छन् । जयसिंह तुइनबाट नदी पार गर्ने क्रममा गस्कु क्षेत्रमा एसएसबीका जवानहरूलाई देखेपछि आत्तिएर नदीमा खसेको दाबी उनको छ ।

घटना हुँदा पिथौरागढको डीएम आनन्द स्वरूप थिए । घटनाको ४ दिनपछि नै उनको सरुवा भएको छ । स्वरूपको ठाउँमा साउन २० देखि आशिष चौहान आएका छन् । २०७७ माघ २९ देखि डीएम रहेका आनन्द स्वरूपले महाकाली नदी तटीय क्षेत्रमा सीमा अतिक्रमण, बाटो, पुलपुलेसा नष्ट गर्ने क्रम रोक्न नेपाली पक्षले पटक–पटक पत्राचार र आग्रह गर्दा जवाफ नै फर्काएका थिएनन् । नयाँ डीएमले पनि अनुसन्धानमा सहयोग गरेका छैनन् ।

साउन २१ मा गृह मन्त्रालयबाट गएको छानबिन टोली भारतको गस्कुस्थित घटनास्थल पुगेको थियो । त्यहाँबाट मुस्किलले १ किमि माथि एसएसबीको पाङ्ला ब्यारेक छ । ब्यारेकमा भएका जवानले तुइन खुस्काएको आरोप लाग्दा पनि एसएसबीका कमान्डर महेन्द्र प्रतापले ब्यारेकबाट थप जानकारी दिएनन् । छानबिन टोली तुइन भएको ठाउँबाटै फर्किएको थियो । नेपाली पक्षले एसएसबीका जवानमाथि अनुसन्धान गर्न आग्रह गर्दा भारतीय पक्षले ‘प्रमाण दिनुस्, हामी कारबाही गर्छौं’ भन्ने जवाफ दिएको थियो । याे खबर कान्तिपुरमा छ ।