प्रधान सेनापतिमा शर्मा नियुक्त : २४ गते पद हस्तान्तरण

मूलखबर संवाददाता
काठमाडौं, ११ साउन

नेपाली सनाकाे प्रधान सेनापतिमा प्रभुराम शर्मा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका कायममुकायम प्रधान सेनापति प्रभुराम शर्मालाई आउँदो २४ गतेबाट लागू हुनेगरी प्रधानसेनापतिमा नियुक्त गरेकी छन् ।

राष्ट्रपतिले शुक्रबार नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई प्रधान सेनापतिमा नियुक्त गरेकी हुन् ।

ब्याच नं. १३५३ बलाधिकृत रथी शर्मा हाल सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका छन् । उनलाई भदौ २४ गतेबाट लागू हुने गरी राष्ट्रपति भण्डारीले नियुक्ति गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।

शर्मालाई भदौ २४ बाट अवकाश लिन लागेका प्रधानसेनापति पूर्णचन्द्र थापाले सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गर्ने छन् । आफ्नो तीन वर्षे कार्यकाल सकिने अघि थापा साउन २५ गतेदेखि एक महिने बिदामा छन् ।