लुम्बिनी प्रदेश मुख्यमन्त्री केसीले पाए विश्वासको मत, ८० मध्ये ४२ मत प्राप्त
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। प्रदेशसभामा रहेका जम्मा ८० सदस्यमध्ये ४२ जनाको मत केसीको पक्षमा आएपछि केसीले विश्वासको मत प्राप्त गरेका हुन् । एमालेले संसद बैठक बहिस्कार गरेकाले विपक्षमा भने कुनै पनि मत परेन।
केसीलाई नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जनता समाजवादीका ३, राष्ट्रिय जनमोर्चाका १ र सूर्य चिह्नबाट चुनाव लडेका विवादास्पद अजय शाही र विमला वलीले उनको पक्षमा मतदान गरेका हुन्। केसी साउन २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए।
विश्वासका मतका लागि ४१ मत आवश्यक रहेको थियो। ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा अहिले ८० सदस्य कायम छन्। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले चौथो बैठक पनि बहिस्कार गरेको छ। एमालेका ३७ सदस्य छन्।
को हुन् केसी ?
नेकपा ९मसाल०को विद्यार्थी संगठनबाट राजनीति थालेका रोल्पा, लिवाङका केसी २०५९ सालमा माओवादीबाट फुटेको मोहन वैद्यको पार्टीमा लागेका थिए। २०७३ मा प्रचण्ड नेतृत्वको माओवादीमा फर्किएर प्रत्यक्षतर्फ रोल्पा १ बाट निर्वाचित भएका उनी शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्री थिए।
तत्कालीन नेकपा (माओवादी) नेतृत्वमा सञ्चालित जनयुद्धमा सहभागि केसी जनमुक्ति सेनाका डिभिजन कमिसार हुँदै लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका हुन्। नेकपा ९एमाले० र माओवादी केन्द्रको एकताबाट बनेको नेकपामा उनी केन्द्रीय सदस्य र संसदीय दलको उपनेता थिए।
नेकपा विभाजनपछि गण्डकी प्रदेशमा नेपाली कांग्रेस र लुम्बिनीमा नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्री पाउने सहमति भएअनुसार ५१ वर्षीय केसीलाई लुम्बिनीका चार दलले मुख्यमन्त्री प्रस्ताव गरेका थिए।
प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गरेर २०४८ देखि २०५० सम्म शिक्षण पेशामा आवद्ध उनी २०५० देखि ०५२ सम्म नेकपा ९एकता केन्द्र०को रोल्पा इलाका सेक्रेटरी थिए। २०५५ सालमा माओवादीमा लागेका उनी एक वर्ष दाङ, सल्यान र प्युठानको संयुक्त सेक्रेटरी रहे।
२०५६ मा पार्टीको भेरी/कर्णाली क्षेत्रीय ब्यूरो सदस्यमा बढुवा भएका उनी २०५७ मा जनमुक्ति सेनाको कम्पनी कमिसार र पार्टीको केन्द्रीय सदस्य बने। २०५९ सालदेखि पोलिटब्यूरो सदस्य र बागमती(नारायणी ब्यूरो इन्चार्जको भूमिकामा रहेका केसी २०६० मा भारतको पटनाबाट गिरफ्तार भए र २०६३ मा रिहा भए।
२०६३ देखि ६८ सालसम्मको अवधिमा उनी जनमुक्ति सेनाको तेस्रो डिभिजन कमिसारका साथै विभिन्न ब्यूरो इन्चार्ज रहे। त्यसपछि पार्टीको युवा दस्ता योङ कम्युनिष्ट लिग ९वाईसीएल० इन्चार्ज बनेका थिए।