भाजपा विदेश विभाग प्रमुख चाैथाइवाले र प्रधानमन्त्री देउवाबीच भेट, के भयाे भेटमा ?

मूलखबर संवाददाता
काठमाडौं

प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भारतीय जनता पार्टी विदेश विभाग प्रमुख डा. विजय मुरलीधर चौथाइवालेले भेटवार्ता गरेका छन्। आइतबार अपरान्ह काठमाडौं आएका चौथाइवालेले बालुवाटारमा प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन्।

चौथाइवाले कांग्रेस र भारतीय जनता पार्टीको सम्बन्ध सुमधुर बनाउनु पर्नेमा जोड दिए। उनले देउवालाई प्रधानमन्त्री बनेकोमा बधाई समेत दिएको बालुवाटार स्रोतले जनाएको छ। देउवा प्रधानमन्त्री बनेपछि माथिल्लोस्तरका भारतीय नेताको यो पहिलो भ्रमण हो। उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वास पात्र मानिन्छन्।

देउवा र चौथाइवालेबीच भेटमा नेपाल-भारत सम्बन्ध, सीमा विवाद, महाकाली नदीमा तुइनबाट खसेर बेपत्ता भएका दार्चुलाको व्यासका जयसिंह धामीको विषयमा समेत छलफल भएको बुझिएको छ।

चौथाइवाले प्रधानमन्त्रीसँग भेट गरेको जानकारी दिँदै ट्वीट समेत गरेका छन्। उनले जनैपुर्णिमा र रक्षाबन्धनको शुभ अवसरमा देउवालाई बधाई पनि दिएको बताएका छन्। उनी प्रधानमन्त्री देउवाको निमन्त्रणमा बालुवाटार पुगेका हुन्। अनौपचारिक भ्रमणमा रहेका चौथाइवालेको भ्रमणको उद्देश्य र भेटघाटका पात्रहरुको बारेमा खुलाइएको छैन ।

देउवा पत्नी अारजु राणाले चाैथाइवालेलाई रक्षाबन्धनका अवसरमा राखी लगाइदिएकी थिइन् । जसले भारतसँग देउवाकाे सम्बन्ध पारिवारिक भएको पुष्टि गराउन मद्वत पुग्ने देखिन्छ ।