अन्ततः फुट्याे एमाले, माधव नेपालकाे नेतृत्वमा एमाले (समाजवादी) दर्ता

मूलखबर संवाददाता
काठमाडौं

नेपालको सुधारवादी वामपन्थी राजनीतिमा आधारीत नेकपा एमाले अन्ततः विभाजन भएको छ ।

झण्डै आधा वर्ष लामो किचलो, घरझगडा, वार्ता, सहमति र विमतिपछि अन्ततः मुलुकको सबैभन्दा ठूलो संसदवादी राजनीतिक दल नेकपा एमाले बुधबार विधिवत विभाजित भएको हो ।

पूर्वपार्टीप्रमुख, पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका हालसम्मका वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा बुधबार एमाले समाजवादी नामक नयाँ राजनीतिक दलको घोषणा भएसँगै एमाले पार्टी दुई टुक्रा भएको हो ।

अध्यक्ष खड्ग ओलीले पार्टीको ठूलो कित्तालाई पार्टीमा टिक्न र काम गर्न नदिने वातावरण सिर्जना गरेर पार्टी फुटको विकल्प नै नरहने अवस्था बनाएपछि वरिष्ठ नेता नेपाल पक्षले एमालेको विधिवत विभाजन गर्दै नेपालकै नेतृत्वमा नयाँ दल दर्ताका लागि बुधबारै निर्वाचन आयोगमा निवेदन दिएको हो । नयाँ पार्टीको नाम नेकपा एमाले ९समाजवादी० राखेर चुनाव चिह्न ‘खुला किताब’ प्रस्ताव गरिए पनि सो चिह्न अर्कै पार्टीसँग जुधेकाले हालसम्म अर्को चिह्नबारे निर्णय भएको छैन ।

प्रस्तावित एमाले समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल र वरिष्ठ नेतामा झलनाथ खनालसहित ९५ केन्द्रीय सदस्य प्रस्ताव गरिएको छ । ९५ जनामा हाल एमालेमा रहेको ५८ केन्द्रीय सदस्य छन् ।

बाँकी केन्द्रीय सदस्य अहिले दल विभजानका क्रममा थपिएको हो ।

त्यस्तै, संघीय संसद्‌मा रहेका ३१ जना सांसद पनि एमाले समाजवादी समूहमा जोडिएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।