
अफगानिस्तानको दुई प्रान्तीय राजधानी तालिबानको नियन्त्रणमा
अफगानिस्तानमा विद्रोही समूह तालिबानले दुई प्रान्तीय राजधानीमा आफ्नो नियन्त्रणमा लिएका छन्।
द गार्डियनका अनुसार शनिबार तालिबानहरूले जजजान प्रान्तको राजधानी शेबेरघान कब्जामा लिएका हुन्। उक्त सहरमा तालिबानहरूले दश दिनदेखि आक्रमण गरिरहेका थिए। शनिबार दिउँसो १ बजेतिर सरकारी सुरक्षा फौजले सहर छोडेका थिए। उनीहरूले अहिले शेबेरघानको विमानस्थलमा बसेका छन्। विमानस्थलबाहेक सहरका अरू सबै ठाउँमा तालिबानहरूको नियन्त्रण छ।
गत शुक्रबार तालिबानहरूले पहिलो पटक प्रान्तीय राजधानीमा कब्जा जमाएका थिए। इरानसँगको सीमा जोडिएको दक्षिणी निमरोज प्रान्तको राजधानी जारान्जलाई उनीहरूले नियन्त्रणमा लिएका थिए।
तालिबान लडाकुहरू शनिबार साँझ नै उत्तरी प्रान्त कुन्दुजको राजधानी कुन्दुज सहरमा पसेका छन्। त्यहाँ अहिले तालिबान र सरकारी सुरक्षाकर्मीबीच भिडन्त भइरहेको छ।
संयुक्त राज्य अमेरिकाले तालिबानहरूलाई रोक्न जजजान प्रान्तमा बम खसाल्ने जहाज बी(५२ पठाएको छ। शनिबार साँझ साढे ६ बजेतिर शेबेरघानमा उक्त जहाजले तालिबानलाई लक्षित गरी बम खसालेको थियो। यसबाट तालिबानलाई ठूलो क्षति भएको दाबी गरिएको छ।
यसैबीच अफगान एयर फोर्सका एक जना पाइलटको तालिबानहरूले गरेको बिस्फोटमा परी मृत्यु भएको छ।
समाचार संस्था रोयटर्सका अनुसार शनिबार दिउँसो अमेरिकी सेनाले तालिम दिएका एयर फोर्सका पाइलट हमिदुल्लाह आजिम काबुलमा गरिएको बम बिस्फोटमा मारिएका हुन्।
प्रान्तीय राजधानीहरू कब्जा गरिरहेको तालिबानका लागि सबैभन्दा ठूलो डर एयर फोर्सको छ। त्यसमा पनि अमेरिकी र नाटो सैनिकबाट तालिम लिएकाहरूलाई उसले निशाना बनाउने गरेको छ।
