`मनाङकाे क्षतिले मन दुख्याे, सडक निर्माण र विजुलीकाे समस्या छिटो समाधान गरिन्छ´- प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मनाङ प्रवेश मार्ग तत्काल सञ्चालन गर्ने र सडक निर्माण गरि विजुली समेत सुचारु गरिने बताएका छन् ।

उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री फम्फा भुसालसहितको टोलीलाई साथ लिएर शनिबार मनाङ पुगेका प्रचण्डले  मनाङको स्थिति हेरेर ‘मन दुखेको’ बताएका छन् । ‘बाढीपहिरोले यतिसाह्रै गरेछ भन्ने जानकारी यहीं आएर थाह पाइयो । साह्रै मन दुखेको छ’, चामेमा आयोजित छलफलमा उनले भने, ‘यो दु:ख हामी धेरै हेर्न सक्दैनौं । जतिसक्दो चाँडो बाटो निर्माण हुन्छ ।’

दाहाल र मन्त्री भुसालसहित प्रतिनिधिसभा सदस्य माओवादी केन्द्रका नेता देव गुरुङ, गुरुङपत्नी एवं संविधान सभा सदस्य यशोदा सुवेदी गुरुङ, पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङ, उर्जा सचिव देवेन्द्र कार्की, राष्ट्रिय जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, सडक विभागका महानिर्देशक अर्जुन थापा, नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत हितेन्द्र शाक्य, उर्जा मन्त्रालयका सहसचिव कलानिधि पौडेलसहित १७ जनाको टोली नेपाली सेनाको हेलिकप्टर चढेर मनाङ पुगेको थियो ।

सुरुमा मनाङ ङिस्याङ गाउँपालिका १, पिसाङ पुगेको टोलीले अध्यक्ष कान्छा घलेलगायत जनप्रतिनिधि र स्थानीयसँग छलफल गरेको थियो । सदरमुकाम चामेमा प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने, गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेसहितका जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिसँग छलफल गरेको थियो । ‘हामी यहाँको बाटो छिट्टै बनाउँछौं । विद्युत्‌को समस्या पनि छिट्टै समाधान गर्छौं’, आश्वासन दिँदै उर्जामन्त्री भुसालले भनिन् । भत्किएका भौतिक संरचना निर्माणमा पनि सरकारले सहयोग गर्ने उनले बताइन् ।

नासों गाउँपालिका ९, दानक्युमा गाउँपालिका अध्यक्ष चन्द्र घलेसहितका जनप्रतिनिधि र स्थानीयसँग टोलीले छलफल गरेको छ । टोलीले निर्माणाधीन माथिल्लो मर्स्याङ्दी २ जलविद्युत् आयोजनाका चिनियाँ निर्माण कम्पनी तथा हिमताल हाइड्रोपावर कम्पनीका अधिकारीसँग पनि छलफल गरेको थियो । ‘टोली जिल्लाको वस्तुस्थिति बुझेर फर्क्यो । यसले मनाङको लाइफलाइनमा रहेको सडक छिट्टै बन्छ भन्नेमा विश्वस्त छौं’ प्रमुख जिल्ला अधिकारी लामिछानेले भने ।

बाढीले सडकमा बेलिब्रिज, गोरेटो तथा घोडेटो बाटोका झोलुंगे पुल बगाएपछि आउजाउमा समस्या छ । हाल मनाङमा हेलिकप्टरमार्फत खाद्यान्नलगायत सामग्री ढुवानी भइरहेको छ । बाढी पहिरोका कारण १ हजार बढी विस्थापित भएका थिए । ७० घरमा पूर्ण क्षति पुग्नुका साथै २ सय बढी घरमा क्षति पुगेको मनाङ प्रशासनले जनाएको छ ।