दोश्रोपटकको बाढीपछि मेलम्ची आयोजनामा २ अर्ब बराबरको क्षति : अझै बढ्न सक्ने

मूलखबर संवाददाता
काठमाडौं, २० साउन ।

दोश्रोपटक शुक्रबार राति बाढीसँगै आएको पहिरोले मेलम्चीमा खानेपानी आयोजनामा करिब २ अर्ब बराबरको क्षति भएको छ । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिलाई आयोजनाका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठले दिएको जानकारी अनुसार बाढी पहिरोका कारण मेलम्चीमा १ अर्ब ८८ करोड बराबरको क्षति भएको हो ।

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिमा हेडवर्क्सका पुरिएका संरचनाहरुमा भएको क्षति र अनुमानित लागत विवरण डेब्रिस सफा गरिसकेपछि मात्र यकिन गर्न सकिने उनले बताए । मेलम्ची बजारदेखि हेडवर्क्स क्षेत्र अम्बाथानसम्मको २२ किमिमध्ये ८ किमि सडक पूर्ण रुपमा क्षति भएको, याङ्ग्रीतर्फ ५ किमि सडक क्षति भएको उनले जानकारी दिए ।

पहिरोसँगै आएको लेदोसहितको बाढीले ६ वटा पक्की पुल र अस्थायी कफरड्याम समेत बगाएको छ । पहिरोले आयोजनाको २१० किलोमिटर डाइभर्सन टनेल र अम्बाथान स्थित टनेल अडिट पोर्टमा लेदो भरिएको श्रेष्ठले बताए ।

हेडवर्क्सको पक्की संरचनाहरु (पक्की बाँध, गेटहरु, जेनेरेटर घर र कन्ट्रोल हाउस) पुरिनुका साथै निर्माण सामाग्री र निर्माण उपकरणहरु र कन्ट्रयाक्टर लेबर क्याम्प समेत बगाएको छ । प्राविधिक निरिक्षणको लागि सुरुङको मुख्य गेट बन्द गरिएकोले मुख्य टनेलमा क्षति नपुगेको अनुमान मेलम्ची खानेपानी आयोजनाले गरेको छ ।

त्यस्तै बैठकमा खानेपानी तथा सरसफाइ मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यले बाढीका कारण आयोजनामा कार्यरत ३ जनाको मृत्यु भएको र अझै ५ जना बेपत्ता रहेको जानकारी दिइन् ।

शुक्रबारको बाढी आउनु पूर्वको अवस्थासम्म आगामी माघसम्म काठमाडौं पानी ल्याउने गरी मर्मत गर्न सकिने अनुमान गरिए पनि अब भने त्यो सम्भव नभएको उनले बताइन् । उनले भनिन्, ‘मेलम्चीको बाढीले हामीलाई निराश बनायो । अस्तिको बाढीअघि अस्थायी रुपमा भए पनि माघसम्म पानी ल्याउन सकिन्छ भन्ने थियो । अब यो काम माघसम्म गर्न सक्छौं कि सक्दैनौं भन्ने यकिन भएको छैन ।’

एसियाली विकास बैंकलाई पत्राचार गरी दीर्घकालीन अध्ययनका लागि अनुरोध गरिएको पनि उनले बताइन् । उनले मेलम्ची आयोजना जसरी भए पनि बचाउनुपर्ने बताइन् । ‘मेलम्ची आयोजना के हुने हो अनिश्चित नै छ । तर जसरी हुन्छ यो आयोजना बचाउनुपर्छ भन्ने लागेको छ’ उनले भनिन् । इकान्तिपुरबाट ।