लुम्बिनी प्रदेशमा ४१ सांसदद्वारा हस्ताक्षर, नयाँ सरकार गठन गराउन माग
लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनका ४१ जना सांसदले मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहे पनि सरकारमा बसिरहेको भन्दै सोमबार हस्ताक्षर प्रदेश प्रमुखसमक्ष बुझाएका छन्।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायतका विपक्षी गठबन्धनले प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर विपक्षी गठबन्धनबाट ४१ जना सांसदको हस्ताक्षर बुझाएको एक सांसदले बताए ।
संसदमा रहेका बहुमत सांसदले बुझाएको हस्ताक्षरमा माओवादी केन्द्रका संसदिय दलका नेता कुल प्रसाद केसी सोनामलाई मुख्य मन्त्री नियुक्त गर्न माग गरिएको छ ।
विपक्षी गठबन्धनले गत शुक्रबारमात्रै कार्यभार सम्हालेका प्रदेश प्रमुख शेरचनलाई बहुमत आफ्नो पक्षमा भएको भन्दै गठबन्धनबाट माओवादी केन्द्रका कुलप्रसाद केसी (सोनाम)लाई मुख्यमन्त्री बनाउन दाबी गर्दै हस्ताक्षर बुझाएका हुन्।
‘हामीले आज प्रदेश प्रमुखलाई भेटेर हस्ताक्षर मात्रै बुझाएका छैनौं, प्रमुख भएको नाताले संविधानको रक्षा गर्नका लागि समेत अग्रसर हुन आग्रह गरेका छौं,’ चौधरीले भने ‘ हामीले ६८ ९२० को प्रक्रिया थालनी तत्काल गर्न माग गरेका छौं।’
उनीहरुले मुख्यमन्त्री पोखरेल अल्पमतमा रहे पनि उनले एकल बहुमतको सरकारको नेतृत्व गर्नु आफैंमा संविधान र कानुनको बर्खिलाप भएको दावी गरेका छन् ।
जसपाले मुख्यमन्त्री पोखरेलको सरकारमा सहभागी आफ्ना तीन सांसदलाई कारबाही गरिसकेको छ। त्यसैले उनीहरूको सांसद पद खोसिएको छ। जसले गर्दा उनीहरू मुख्यमन्त्री चुन्ने निर्वाचन प्रक्रियामा सहभागी हुन पाउँदैनन्।
सुरूमा ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा हाल माओवादी केन्द्रका २ सांसदलाई पार्टीले खाली गराएको छ। एमालेका २ सांसदले राजीनामा दिएका छन्। त्यसैले अहिले प्रदेश सभा ८३ सदस्यीय छ।