गण्डकीमा गुरुङ र लुम्बिनीमा शेरचन प्रदेश प्रमुख नियुक्त, योजना आयोगको जिम्मा पौडेललाई
गण्डकी प्रदेश र लुम्विनी प्रदेशमा प्रदेश प्रमुख फेरिएको छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गरेकी हुन् । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकको निर्णय एवं प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधान धारा १६३ को उपधारा ९२० बमोजिम नियूक्त गरिएकोे राष्ट्रपति कार्यालयले जनाएको छ ।
यस अघि गण्डकी प्रदेशका प्रमुख सीताकुमारी पौडेल र लुम्विनी प्रदेशका प्रमुख धर्मनाथ यादव पदमुक्त भएको राष्ट्रपति कार्यालयले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
त्यसैगरी सरकारले अर्थशास्त्री विश्व पौडेललाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ । मन्त्रिपरिषद्ले मंगलबार उपाध्यक्षमा पौडेल, सदस्यहरूमा रामकुमार पौडेल र दिलबहादुर गुरुङलाई नियुक्तिको निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया ९यूसी०, बर्कलेबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका उपाध्यक्ष पौडेल हाल काठमाडौं विश्वविद्यालयमा भिजिटिङ प्रोफेसर छन् । पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेको कार्यकालमा उनले आयोगमै सल्लाहकारका रूपमा काम गरेका थिए । अर्थ राजनीतिक इतिहासका विषयमा दखल राख्ने उनले एमसीसी र आईएलओको नेपालस्थित कार्यालयमा अर्थशास्त्रीका रूपमा काम गरिसकेका छन् ।
कोभिड महामारी र बाढीपहिरोका कारण नेपालको अर्थतन्त्र धेरै दृष्टिले जोखिमपूर्ण देखिएकाले पहिलो प्राथमिकता त्यसमै केन्द्रित हुने नवनियुक्त उपाध्यक्ष पौडेलले बताए । ‘अर्थतन्त्रमा परेको जोखिमबारे अध्ययन तथा विश्लेषण गरेर सरकारलाई सुझाव दिनेछौं,’ उनले भने, ‘पछिल्लो समय देखापरेका समस्याका कारण यसअघि निर्धारित योजनालाई रियलिस्टिक बनाउनु छ ।’
आयोजना बैंकको विस्तार र वस्तुनिष्ठ बनाउने अर्को प्राथमिकता रहेको उनले सुनाए । ‘आयोगबाट हुने अनुगमन र मूल्यांकनमा पनि धेरै नै काम गर्नुपर्नेछ । यसले पुँजीगत खर्च बढाउन सहयोग पुगोस्,’ उनले भने, ‘केन्द्रीय तथ्यांक विभागको क्षमता थप विस्तार गर्नुपर्छ । समग्रमा सरकार तथा प्रधानमन्त्रीलाई नीति, योजना तथा आर्थिक विषयमा सल्लाहकारको भूमिका निर्वाह गर्नेछु ।’