कोपा अमेरिका २०२१ मा अर्जेन्टिना विजयी, ब्राजिललाई शुन्य, मेस्सी र टिमलाई विश्वभरबाट बधाई

मूलखबर संवाददाता
काठमाडौं, २७ असार

कोपा अमेरिका २०२१ को उपाधि अर्जेन्टिनाले हात पारेको छ । नेपाली समय अनुसार आज विहान भएको खेलमा अर्जेन्टिनाले प्रतिस्पर्धी ब्राजिललाई शुन्यका विरुद्ध १ गोलले पराजित गर्दै उपाधी चुम्न सफल भएको हो ।

खेलको पहिलो हाफ सकिँदा घरेलु टिम ब्राजिलविरूद्ध अर्जेन्टिनाले अग्रता लिएकोमा सो अग्रता निरन्तर जितमा बदलिएको हो । छ।

अर्जेन्टिनाका लागि एन्जल डि मारियाले गोल गरेका थिए। उनले खेलको २२ मिनेटमा गोल गरेका थिए।

डि पाउलले दिएको लामो पासमा डि मारियले उत्कृष्ट गोल गरेका हुन्।

ब्राजिलका रेनान लोडीले राम्रोसँग बल ठम्याउन नसक्दा डि मारियाले डिबक्स भित्रबाट बललाई गोल पोस्टको दिशा दिए।

ब्राजिल र अर्जेन्टिनाबीच कोपा अमेरिकाको फाइनलमा तीन पटक प्रतिस्पर्धा भएको छ। सन् १९३७ मा दक्षिण अमेरिका च्याम्पियनसिपको नाममा हुने फाइनलमा अर्जेन्टिनाले ब्राजिललाई २(० ले हराएर उपाधि जितेको थियो।

यस्तै सन् २००४ को कोपा अमेरिकामा ब्राजिल र अर्जेन्टिना उपाधिका लागि भिडेका थिए। पेरूमा भएको उपाधि भिडन्तको निर्धारित समयको खेल २(२ गोलको बराबरीमा सकिएको थियो। त्यसपछि भएको पेनाल्टी सुटआउटमा ब्राजिल ४(२ गोलले विजयी भएको थियो।

सन् २००७ को कोपा अमेरिकाको फाइनलमा पनि अर्जेन्टिना र ब्राजिलबीच नै भिडन्त भएको थियो। जसमा ब्राजिलले ३(० ले अर्जेन्टिनालाई स्तब्ध पार्दै उपाधि लगातार दोस्रो पटक उपाधि जितेको थियो।

अर्जेन्टिना सन् २००४ यता चार पटक फाइनल पुगे पनि उपाधिबिहीन बन्दै आएको छ। सन् २००४ र २००७ मा ब्राजिलसँग फाइनलमा हारेको अर्जेन्टिना सन् २०१५ र २०१६ को फाइनलमा चिलीसँग पराजित हुन परेको थियो।

अर्जेन्टिना त्यसअघि १९९३ को कोपाको फाइनलमा पुगेको थियो। फाइनलमा आमन्त्रित टिम मेक्सिकोलाई २(१ ले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको थियो। त्यसयता अर्जेन्टिनाले कुनै पनि मुख्य प्रतियोगिताको उपाधि जित्न सकेको छैन।

यो बीचमा अर्जेन्टिना एक पटक विश्वकपको फाइनलमा पुगे पनि पराजित भएको थियो। सन् २०१४ को उपाधि भिडन्तमा जर्मनीसँग पराजित हुँदा अर्जेन्टिना उपाधिविमुख भएको थियो।

ब्राजिलले सन् १९९७ यता पाँच पटक कोपा अमेरिकाको उपाधि जितेको छ। सन् २००४ र २००७ मा अर्जेन्टिनालाई हराएर उपाधि जितेको ब्राजिलले सन् १९९७ र १९९९ मा पनि उपाधि हात पारेको थियो। यस्तै ब्राजिल सन् २०१९ को पनि विजेता हो।

ब्राजिलले यो बीचमा एक पटक विश्वकपको उपाधि जितेको छ। पाँचौ पटक विश्वकप जित्ने क्रममा ब्राजिलले सन् २००२ को विश्वकपको फाइनलमा जर्मनीलाई पराजित गरेको थियो। त्यसअघि ब्राजिलले सन् १९९४ मा चौथो पटक विश्वकप जितेको थियो।

कोपा अमेरिकाको समग्र इतिहासमा अर्जेन्टिना अघि छ। अर्जेन्टिनाले १४ पटक उपाधि जितेको छ। ब्राजिलले भने अहिलेसम्म ९ पटक कोपाको उपाधि जितेको छ। कोपा सर्वाधिक उपाधि जित्ने टिम भने उरूग्वे हो। उरूग्वे १५ पटक च्याम्पियन भएको छ।

विश्वकपको इतिहासमा भने ब्राजिल अघि छ। ब्राजिलले पाँच पटक उपाधि जित्दा अर्जेन्टिना दुई पटक च्याम्पियन बनेको थियो।