माओवादी केन्द्रले भन्यो : दल दर्ता खारेजीको हर्कत गर्नु हास्यास्पद
नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगमा आफ्नो दल खारेजीको माग गरेर निवेदन दिने हर्कत हास्यास्पद भएको बताएको छ । पार्टी केन्द्रीय कार्यलयका सचिव श्रीराम ढकालले एक विज्ञप्ति जारी गर्दै सो हर्कत पार्टीलाई बदनाम गराउने कार्य भएको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्ति निवेदक रहेको र दल दर्ता र खारेजीसम्वन्धी सामान्य कानुनी प्रक्रिया समेत जानकारी नभएको व्यक्तिले दल दर्ता खारेजीको हर्कत गर्नु हास्यास्पद रहेको सो पार्टीको भनाइ छ ।
कार्यालय सचिव श्रीराम ढकालले विज्ञप्ति जारी गर्दै केही अवसरवादी, स्वार्थी, लालची, अनैतिक तत्वले दुष्प्रचार गरी पार्टीलाई बदनाम गराउन सकिन्छ भन्ने मनसायले उक्त काम भएको भन्दै सो पार्टीले कुनियतको दुष्प्रचार रहेको स्पष्ट पारेको छ ।
दुई दिनअघि नेकपा एमालेमा रहेका पूर्वमाओवादीका नेताहरु माओवादी केन्द्रले लामो समय महाधिवेसन नगरेको भन्दै दल खारेजीको निवेदन दर्ता गराएका थिए ।
‘संविधान, कानून, विधि, विधान विपरित दुष्प्रचार गरिएकोमा पार्टीका सम्पूर्ण अंग नेता कार्यकर्ता, शुभचिन्तक भ्रममा नपर्न आग्रह गर्दछौं । हाम्रो पार्टी त्यस्तो कुनियतको दुष्प्रचारलाई खारेज गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यस प्रकारका अनाधिकृत तथा आयोगसँग बेसरोकार निवेदन दर्ता स्वीकृत गर्दा अनावश्यक भ्रम सृजना हुने भएकोले आइन्दा त्यसो नगरियोस भन्ने आग्रह समेत गर्दछौं ।’
यस्तो छ विज्ञप्ति
मितिः २०७८।०३।२५
प्रेस वक्तव्य
नेपाल कम्युनिष्ट पाटी ९माओवादी केन्द्र०का ‘दल दर्ता खारेजी सम्बन्धमा भनी’ सरोज बुढाथोकी कमलामाई न।पा। १० सिन्धुली हाल कागेश्वरी मनहरा न।पा। ७ काठमाडौंको नामबाट प्रमुख निर्वाचन आयुक्तलाई सम्बोधन गरी निर्वाचन आयोगमा दर्ता गराएको भन्ने कुरा सार्वजनिक सञ्चार माध्यमबाट यस पार्टीमा जानकारी हुन आएकोमा हाम्रो ध्यान आकृष्ट भएको छ । हाम्रो पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्ति निवेदनक रहेको र दल दर्ता र दल खारेजी सम्बन्धी सामान्य कानूनी प्रक्रिया समेत जानकारी नभएको व्यक्तिले यस्तो हरकत गर्नु हास्यास्पद देखिन्छ ।
केही अवसरवादी, स्वार्थी, लालची, अनैतिक तत्वले यस प्रकारको दुष्प्रचार गरी पार्टीलाई बदनाम गराउन सकिन्छ भन्ने मनशायले उक्त कार्य गर्न गराउन प्रयत्न गरेको देखिन्छ । संविधान, कानून, विधि, विधान विपरित दुष्प्रचार गरिएकोमा पार्टीका सम्पूर्ण अंग नेता कार्यकर्ता, शुभचिन्तक भ्रममा नपर्न आग्रह गर्दछौं । हाम्रो पार्टी त्यस्तो कुनियतको दुष्प्रचारलाई खारेज गर्दछ ।
त्यस प्रकारका अनाधिकृत तथा आयोगसँग बेसरोकार निवेदन दर्ता स्वीकृत गर्दा अनावश्यक भ्रम सृजना हुने भएकोले आइन्दा त्यसो नगरियोस भन्ने आग्रह समेत गर्दछौं ।
श्रीराम ढकाल
सचिव
केन्द्रीय कार्यालय