संसद विघटनबारे सर्वोच्चमा सकियो बहस, एमिकस क्युरीको के आउला राय ?

मूलखबर संवाददाता
काठमाडौं, २१ असार ।

सर्वोच्च अदालतमा जारी प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस सकिएको छ । संसद विघटन असंवैधानिक छ भनेर संसद पुनस्र्थापनाको माग राखी निवेदन दिने रिट निवेदक १४६ सांसद र संसद विघटन जायज छ भनेर विपक्षी राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीका तर्फबाट बहस र जवाफी बहस सोमबार दिउँसो सकिएको हो ।

सोमबार संसद विघटन खारेज गर्न माग गर्दै रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बद्रीबहादुर कार्की र शम्भु थापाले जवाफी बहस गरेका थिए ।

निवेदक र विपक्षी अधिवक्ताहरुको बहस सकिएपछि अब एमिकस क्युरीको रायको प्रतिक्षमा सर्वत्र चासो व्यत्तः भएको छ । अब संवैधानिक इजलासले एमिकस क्युरीको राय लिन बाँकी छ । सोमबार दिउँसो साढे २ बजेपछि एमिकस क्युरीको बहस शुरु हुनेछ ।

प्रतिनिधिसभा विघटन मुद्दामा नेपाल बार एशोसिएसनका तर्फबाट वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठक तथा सर्वोच्च अदालत बार एशोसिएसनका तर्फबाट कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी एमिकस क्युरीको रुपमा चयन भएका छन् । एमिकस क्युरीको रायका लागि २ घण्टा समय तोकिएको छ ।

रिट निवेदक पक्ष र विपक्षले प्रतिनिधिसभा विघटन मुद्दामा १५/१५ घण्टा बहस गरेका छन् । यो मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाई भइरहेको छ ।