हाम्रो गठबन्धन अवसरवादी होइन, अग्रगामी हो, दीर्घकालसम्म रहन्छ : प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं, १० असार । 

गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशताका कारण आफूहरु एकठाउँमा आउन बाध्य भएको बताएका छन् । उनले के पी ओली ‘भिलेन’ भएको भन्दै आलोचना पनि गरेका छन्।

आज संघीय संसद भवन बानेश्वरमा सम्पादकहरूसँग अन्तर्क्रिया गर्दै उनले पाँच दलीय गठबन्धन अवसरवादी नभएको प्रष्ट पारे ।

‘यो गठबन्धन अवसरवादी होइन। उहाँले गर्दा देशलाई सकारात्मक दिशामा लैजान चाहने शक्ति एक ठाउँमा छन्। यसका लागि ओलीजीलाई धन्यबाद, उहाँ भिलेन हो भन्ने जनताले थाहा पाए,’ प्रचण्डले भने। प्रचण्डले पाँच दलीय गठबन्धन छलफलपछि मात्रै बनेको र दीर्घकालसम्म रहने पनि बताएका छन्।

केपीले प्रतिनिधि सभा विघटन गरेको र एकपछि अर्को असंवैधानिक कदम चालेको दृष्टान्त प्रस्तुत गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीको आलोचना पनि गरेका थिए।

प्रधानमन्त्री ओलीका कारण देशलाई सुधार गर्ने शक्ति एकठाउँमा उभिएको भन्दै प्रचण्डले ओलीलाई नकारात्मक रुपले भएपनि भुमिका खेलेको भन्दै धन्यबाद पनि दिएका छन्।

‘यो पाँच दलीय गठबन्धन विना छलफल बनेको होइन। यो संविधानको रक्षा गर्ने र समय अनुकूल परिमार्जन लैजाँदै जाने भन्ने हो,’ उनले भने, ‘लोकतन्त्रको मौलिक विषय रक्षा गर्नुपर्छ। राष्ट्रियताको रक्षाको लागि हो। यो गठबन्धन प्रधानमन्त्री फेर्नको लागि मात्र सम्झौता होइन। यो लोकतन्त्र र संविधान रक्षाको लागि भएको हो।’

नेकपा एमालेभित्रको संघर्ष अलि पेचिलो रहेको पनि प्रचण्डको टिप्पणी थियो । ‘एमालेभित्रको संघर्ष अलि पेचिलो छ। माधवजीको समस्यालाई हामीले गम्भिरताको साथ लिएका छौं। यो गठबन्धन दीगो रुपमा लैजानुपर्छ,’ उनले भने।

उनले ओली र माधव नेपाल उस्तै नभएको पनि बताए।  ‘ओलीले बयलगाडा भन्दै गर्दा गणतन्त्रको झण्डा बोक्ने माधव नेपाल उस्तै(उस्तै होइन। प्रश्न उठनसाथ प्रधानमन्त्री छोड्ने प्रचण्ड र प्रधानमन्त्री छोड्नपरे कुर्सी भाच्छु भन्ने ओली उस्तै(उस्तै होइन,’ उनले भने, ‘हामी विदेशीसँग सुमधुर सम्बन्ध राख्न चाहान्छौं।तर अनावश्यक चलखेल स्वीकार्य छैन भनेको हो।’

उनले आफूहरू कुनै सेटिङमा नलागेको बरू सेटिङ भएका छन् भने त्यो तोड्ने पनि बताए। उनले संवैधानिक निकायहरूलाई सरकारले हस्तक्षेप गरी काम गर्न नसक्ने अवस्थामा पुर्‍याएको पनि आरोप लगाएका थिए।