मनाङ बाढी अपडेट : ताल गाउँ पुरै डुबानमा, ३ सय परिवार विस्थापित, अकल्पनीय क्षती

नविनराज कुईकेल
२ असार

मनाङ सदरमुकाम चामेमा बाढी पहिरोबाट ३ सय परिवार विस्थापित भएका छन्। चामे बजारको घट्टेखोला, च्याट्टेखोलामा र मस्र्याङ्दी नदीमा बाढी आउँदा चामे बजार क्षेत्र विस्थापित भएको मनाङका प्रजिअ विष्णु लामिछानेले जानकारी दिएका छन्।

‘तीनसय परिवार कारागारको नवनिर्मित भवनमा आश्रय लिएर बसेका छन्,ु प्रजिअ लामिछानेले भने,‘चामे, धारापानीमा बाढीले कटान गरेको छ, ताल गाउँको बस्ती पुरै डुबानमा छ ।’

बाढीले मनाङको तल्लो भेग नासों गाउँपालिकाको धारापानी क्षेत्रमा बढी क्षति पुर्‍याएको छ । बुधबार बिहान आएको बाढीले पुल र भवनहरू बगाएको प्रशासनले जनाएको छ ।

प्रजिअ लामिछानेका अनुसार ताचै जाने बेलिब्रिज, थोंचे–चिल्चेतिर जाने झोलुंगे पुल, नासों गाउँपालिकाको कार्यालय, सीमा प्रहरी चौकी बाढीले बगाएको छ । यस्तै, प्रभु बैंक र प्राइम कमर्सियल बैंकका भवन, वडा नं। ५ को कार्यालय, थोंचे स्वास्थ्य चौकी, लघु जलविद्युत् आयोजनाका साथै धारापानीका पाँचवटा होटल बगेका छन् ।

प्रजिअ लामिछानेले बाढीपछि प्राइम कमर्सियल बैंकमा कार्यरत एक कर्मचारी सम्पर्कविहीन रहेको बताए । ती कर्मचारीको खोजि भइरहेको उनले बताए ।

मनाङको ङावलमा पहिरोले मस्र्याङ्दी नदी थुनिएको छ । बुधबार बिहानै पहिरो झरेर नदी थुनिएको प्रजिअ लामिछानेले जानकारी दिए । नदी थुनिएपछि चामे र ताल गाउँलगायत तल्लो तटीय क्षेत्रमा झन् जोखिम बढेको छ । थुनिएको नदी एकै पटक फुट्यो भने उपल्लो मनाङ जोड्ने चामेको पुल, चामे बजार र ताल बजारलाई झन् ठूलो क्षति पुग्ने उनले बताए ।केही दिनयता निरन्तर परेको पानीले चामे बजारको घट्टेखोला र च्याट्टेखोलामा आएको बाढीले बजारका ६ घर बगाएको थियो । चामेका अन्य घर समेत डुबानमा परेपछि झण्डै ३ सय जना जिल्ला कारागारको नवनिर्मित भवनमा गएर आश्रय लिएका छन्। पानी परिरहेकाले अहिले पनि अवस्था उत्तिकै खतरापूर्ण रहेको प्रजिअ लामिछानेले बताए।

‘पानी परिरहेको छ, ुउनले भने, ‘बाढी र पहिरोले चामे बजार भित्रै पनि कतै जान सक्ने अवस्था छैन ।’

चामे र तालगाउँका बाढी पहिरो पीडितलाई राहत र उद्धारका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर ल्याउन तयारी अवस्थामा रहे पनि मौसम खराब भएकाल आउन नसकेको उनले बताए । उनले भने, ुविस्थापित परिवारका लागी काठमाडौंबाट राहत ल्याउँदै छौं, खराब मौसमका कारण हेलिकप्टर आउन सकेको छैन् ।’

चामेका करिब ६० घर बाढी र डुबानको समस्यामा परेको उनले बताए । मस्र्याङ्दी नदी उर्लिँदा डुबानमा परेको मनाङको प्रवेशद्वार तालगाउँ अहिले पनि जोखिममै रहेको छ । मंगलबार बिहानैदेखि डुबानमा परेको उक्त गाउँ सञ्चारविहीन बन्न पुगेको छ । तालगाउँमा रहेका ४८ घरधुरी सबै डुबानमा परेका छन् ।

तालमा उद्धारका लागि चामेबाट नेपाली सेना, प्रहरी लगायतका टोली जान सक्ने अवस्था नरहेको उनले बताए । चामेबाट ताल गाउँ जाने बाटोका पुलहरू बगेका छन् भने पहिरोले बाटो अवरूद्ध छ । मौसममा सुधार नआउँदा ताल गाउँमा हेलिकप्ट समेत जान नसक्ने अवस्था रहेको उनले बताए ।

मनाङमा निरन्तर परेको पानीका कारण राष्ट्रिय प्रसारण लाइनका पोलहरू ढलेका छन् भने चामे र तिमाङको लघु जलविद्युत आयोजना समेत बगाइदिएको छ । बिजुली नहुँदा सञ्चारमा समेत बाधा पुगेको छ ।

मनाङ प्रहरी प्रमुख डीएसपी सुवास खड्काले बाढीले धारापानी बजार नै जोखिममा परेको बताए । ‘धारापानीमा बिजुली छैन । टेलिफोनले काम गरेको छैन् । बल्लबल्ल साथीहरू सम्पर्कमा आएर जानकारी गराउनुभयो,’ उनले भने । स्थानीयका अनुसार थोंचे गाउँको स्वास्थ्य चौकी पनि बाढीले कटान गरेको छ ।

बाढीले विद्युतीय संरचना बगाउँदा मनाङको सबैतिर सम्पर्कविच्छेद भइरहेको छ । स्थानीयको उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली सदरमुकाम चामेबाट धारापानीतर्फ गएको छ ।