ओलीले गरे १९ औं पटक मन्त्रिपरिषद् विस्तार : खगराजलाई गृह, नैनकलालाई सञ्चार, २५ मध्ये प्रदेश २ बाट मात्रै १४ मन्त्री

मूलखबर संवाददाता
काठमाडौं, २७ जेठ ।

संसदमा विस्वासको मत प्राप्त गर्न नसकेपछि आफैं निर्वाचित भएको संसद विघटनसम्म पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले १९ औ. पटक मन्त्रिपरिषद विस्तार गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । सत्तारुढ दल नेकपा एमालेको ओली खेमाबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका ओलीले जनता समाजवादी पार्टी ९जसपा० को महन्थ ठाकुर पक्षबाट एक मन्त्री बनाइएका छन् ।

यससँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । २५ सदस्यीय मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्री छन् भने १८ मन्त्री र तीन राज्यमन्त्री भए । जसमध्ये १४ जना त प्रदेश २ बाट मन्त्री बनेका छन् ।
ओलीले यस अघि पुर्व माओवादी नेता समेत रहेका राम बहादुर थापा बादलले सम्हालेको गृह मन्त्रालयको जिम्मेवारी कास्कीबाट निर्वाचित खगराज अधिकारीलाई दिएका छन् भने ओलीका विश्वास पात्रका रुपमा परिचित पार्वत गुरुङले सम्हालेको सञ्चार मनत्रालयको जिम्मेवारी बादल पत्नी नैनकला थापालाई दिएका छन् ।

ओलीले एमालेबाट नादरमुनि रानालाई वनमन्त्री बनाएका छन् । कैलाली ५ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई हराएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित रानालाई उनले मन्त्री बनाएका हुन् । उनीमाथि रातो पासपोर्ट बेचेको अभियोग छ ।

एमालेबाट गणेश पहाडी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन् । माधवकुमार नेपाल समूहमा पनि योगेश भट्टराई निकट मानिएका उनले पछिल्लो पटक प्रतिनिधिसभा विघटन खारेज र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट हाल्दा हस्ताक्षर गरेनन् ।

एमाले नेता मोहन वानियाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मन्त्री बनाइएको छ भने पूर्व माओवादी केन्द्र खेमाबाट ज्वालाकुमारी साहलाई कृषिमन्त्री बनाइएको छ । प्रदेश २ को प्रदेशसभा सदस्यमा माओवादी केन्द्रबाट निर्वाचित उनी एमाले प्रवेश गरेपछि पदमुक्त भएकी थिइन् ।

यस्तै जसपाको महन्थ ठाकुर पक्षबाट राजकिशोर यादव उद्योगमन्त्री बनेका छन् । जसपाको ठाकुर पक्ष ७ जेठमा उपप्रधानसहित ८ मन्त्री र दुई राज्यमन्त्री लिएर सरकारमा गएको थियो । एमालेकी आशा विक वन तथा वातावरण राज्यमन्त्री बनेकी छन् ।

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले बिहीबार नै शपथ लिएका छन् । शीतलनिवासमा आयोजित समारोहमा मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारी र राज्यमन्त्रीलाई प्रधानमन्त्री ओलीले शपथ दिलाएका हुन् ।
५ पुसको संसद विघटन गर्दा साबिकको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०मा आफूलाई साथ दिएका पूर्व माओवादी केन्द्र खेमाका नेताहरु टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी र दावा लामालाई प्रधानमन्त्री ओलीले १० पुसमा मन्त्री बनाएका थिए । गृहमन्त्री बादलसँगै लेखराज भट्ट पनि मन्त्री नै थिए ।

२३ फागुनमा सर्वोच्चले एमाले र माओवादी ब्युँताएपछि पनि बादलसहितका नेताहरु ओलीतिर लागे । माओवादी केन्द्रले कारबाही गरेपछि उनीहरुको सांसद पद गयो । तर प्रधानमन्त्री ओलीले संविधानको धारा ७८ अनुसार उनीहरुलाई पुनः मन्त्री नियुक्त गरे ।

२७ वैशाखमा संसदको विश्वास गुमाएका प्रधानमन्त्री ओली ३१ वैशाखमा संसदको सबभन्दा ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्री नियुक्त भए । उनले अघिल्लो क्याबिनेटका सबै मन्त्रीलाई दोहोर्याए । तर सर्वोच्चले ६ जेठमा संविधानको धारा ७८ अनुसार भएका बादलसहितका ७ मन्त्रीलाई पदमुक्त गरिदियो ।

गृहमन्त्रीमा नियुक्त खगराज अधिकारीलाई २०७४ मा कास्कीबाट निर्वाचित भएका हुन् । शुरुमा एमाले संसदीय दलको सचेतक र केही समय प्रमुख सचेतक रहेका तर नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि उनको जिम्मेवारी खोसिएको थियो ।

सञ्चारमा नियुक्त बादल पत्नी नैनकला थापा महिला आयोगको अध्यक्ष भइसकेकी महिला हुन् । थापा पछिल्लो समय सक्रिय राजनीतिमा थिइनन् । तर पूर्व माओवादी कोटाबाट दुई मन्त्री बनाउँदा नैनकला सञ्चारमन्त्री बनेकी छन् ।