कांग्रेसले भन्याे- सरकारले खरानीकाे व्यापार गर्न घरै जलायाे

मूलखबर संवाददाता
काठमाडौं, २० जेठ

सरकारले बजेट वक्तव्य मार्फत चुरे दोहन गर्न खोजेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

विगतमा चुरे क्षेत्रबाट ढुंगा, गिटी, बालुवा उत्खनन गरिंदा त्यसले पानीका स्रोतहरु सुक्न थालेको, भू–क्षय बढेको र समग्रमा पर्यावरणलाई गम्भीर असर परेको अध्ययन रहेको भन्दै नेपाली कांग्रेसले विज्ञप्ती जारी गर्दै विगतका गल्ती सच्याएर अघि बढ्न निश्चित गरिएको नितिलाई विस्थापित गरेर पुनः दोहनलाई प्रोत्साहन सामान्य गल्ति होइन भनेको छ । ‘प्रकृति विरुद्धको अपराध र देशको तराई–मधेस क्षेत्रलाई भविष्यमा मरुभूमिकरण गर्ने गम्भीर षड्यन्त्र हो ।’ कांग्रेसद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा रहेकोे सरकारले ‘राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति’ गठन गरेर चुरे क्षेत्रको दोहन रोक्न र चुरे संरक्षण गर्न विकास समिति मार्फत विभिन्न मापदण्ड निर्धारण गरेको स्मरण गर्दै तत्कालिन सरकारले ढुंगा, गिटी, बालुवा उत्खनन र निकासीमा रोक लगाएको उल्लेख गरेको छ ।

‘उत्त निति र निर्णयलाई विस्थापित गर्दै ‘ब्यापार घाटा न्यूनीकरण गर्न’ भन्ने नारा दिएर ढुंगा, गिटी, बालुवा निकासीको कार्यक्रम ल्याउनु ‘खरानीको ब्यापार गर्न घर जलाए जस्तो’ मात्रै हो ।’ जारी विज्ञप्तीमा उल्लेेख छ ।

कांग्रेसले ढुंगा, गिटी, बालुवा निकासी गर्नेगरि हचुवाका भरमा बजेटमा नितिगत भ्रष्टाचार गर्दै ल्याइएको राष्ट्रका लागि दुरगामी घातको कार्यक्रम फिर्ता लिन सरकारलाई चेतावनी दिएको छ ।