प्रधानमन्त्री ज्यु ! कालाे काेटमा हाेईन तपाईंको कालाे साेँचमा हाे समस्या : शर्मा

मूलखबर संवाददाता
काठमाडौं

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लक्षित गर्दै कालो कोटमाभन्दा कालो सोचमा समस्या रहेको टिप्पणी गरेका छन्। सोमबार युवा संघको कार्यक्रममा  प्रधानमन्‍त्री केपी ओलीले संसद् विघटनविरुद्ध रिट दिने र बहस गर्ने वकिलहरूको गतिविधिप्रति आक्रोश व्यक्त गरेपछि गरेपछि शर्माले यस्तो प्रतिक्रिया  दिएका हुन् ।

‘कालो कोटमा होइन कालो सोचमा समस्या छ प्रधानमन्त्रीज्यू !’ शर्माले सोमबार राति ट्वीटरमा लेखेका छन्, ‘व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध शासकको भावनात्मक उत्तेजना सदैव निन्दनीय हुन्छ।’

उनले व्यक्तिको पहिचान अभिव्यक्तिमा हुने भएकाले देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रोक्न सुझाव दिए।  शर्माले भनेका छन्,‘अरू बोले अराजक अभिव्यक्ति, आफू बोले अभिव्यक्ति स्वतन्त्रता ? विवेक बोल्ने पूर्वप्रधानन्यायाधीशहरू आउटडेटेड अनि आफ्नो आइटडेटेड राजनीतिक दर्शन चैँ दिब्यज्ञान ? प्रधानमन्त्रीज्यू, व्यक्तिको पहिचान अभिव्यक्तिमा हुन्छ। देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रौकौं, अब।’

प्रधानमन्त्रीले ओलीले कालोकोट लगाएका केही अराजक व्यक्तिहरूले न्यायाधीश छान्‍न खोजेको र आफै फैसला लेख्‍न चाहेको भन्दै उनीहरूको  कडा आलोचना गरेका थिए। प्रतिनिधिसभा विघटनको मुद्दा हेरिरहेको संवैधानिक इजलासमा रहेका न्यायाधीशद्धय तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि रिट निवेदक पक्षका वकिलले प्रश्न उठाएर विवाद गरेको विषयमा प्रतिक्रिया दिदै ओलीले भनेका थिए,‘यो कस्तो सिस्टम खोजेको हो ? के अब वकिलले न्यायाधीश तय गर्ने ? के वकिलले लेखेर ल्याएको फैसला नै न्यायाधीशले पढ्नुपर्छ भन्‍न खोजेको उहाँहरूले ?’ओलीले न्यायलय र न्यायाधीश मान मर्यादा र गरिमाको अलिकति पनि ख्याल नगरीकन केही वकिलहरू मर्यादाहीन गतिविधिमा संलग्‍न भएको धारणा राखे।

ओलीले यस्तो प्रवृत्तिले स्वतन्‍त्र न्यायलयलाई कमजोर बनाउने चिन्ता व्यक्त गर्दै कालोकोटधारी व्यक्तिहरूले अदालतलाई कुन हैसियत र अवस्थामा पुर्याउँछ  भन्दै प्रश्न गरेका थिए।