नेपालमा संक्रमितको संख्या ५ लाख बढी, निको हुने ३ लाख ८३ हजार बढी

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं, ९ जेठ

नेपालमा कूल संक्रमितको संख्या ५ लाख नाघेको छ । शनिबार ८९८० जना संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ५ लाख ५ हजार ६४३ पुगेको हो । पछिल्लो २४ घण्टामा २० हजार १०५ जनाको परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप ८८४८ जना निको भएका छन् । नेपालमा हालसम्म निको हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ । नेपालमा निको हुने दरमा केही सुधार भएर ७५।८ प्रतिशत पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२९ जनाको मृत्यु भएको तथ्यांक प्राप्त भएको छ । कोभिड–१९ को संक्रमणबाट ६ हजार १५३ जनाले ज्यान गुमाइसकेका छन् ।

जेठ १ यताको तथ्यांक केलाउँदा ८ दिनमा मात्र कूल ६७ हजार ५० जना संक्रमित थपिएका छन् । नेपालमा सक्रिय संक्रमितका संख्या १ लाख १५ हजार ८०६ जना रहेका छन् । यसमध्ये एक लाख ८ हजार १०३ जना होम आइसोलेसनमा, ७ हजार ७०३ जना संस्थागत आइसोलेसनमा, १ हजार ७३२ जना आईसीयूमा र ५२३ जना भेन्टिलेटरमा रहेका छन् ।

पछिल्ला ८ दिनमा देशभर भेटिने संक्रमितको संख्यामा खास अन्तर देखिएको छैन । यो महिना सबैभन्दा उच्च जेठ ३ मा ९२४७ जना संक्रमित फेला परेका थिए ।

देशमा संक्रमितको संख्या बढी रहँदा काठमाडौँ उपत्यकामा भने संक्रमितको संख्यामा केही कमी आएको देखिन्छ । कूल संक्रमितमध्ये ३९ प्रतिशतसम्म संक्रमित काठमाडौँ उपत्यकामा फेला पर्ने गरेकोमा शनिबार यो २६ प्रतिशतमा झरेको छ ।