माओवादीले माग्यो कार्यकर्ता र जनतासँग सुझाव, , एमालेले बनायो १० सदस्यीय कार्यदल

मूलखबर संवाददाता
काठमाडौं, ३ जेठ ।

सर्वोच्च अदालतले एकता गरिसकेका दुई पार्टीलाइ  फुटाएर फरक फरक दल बनाइदिएपछि नेकपा माओवादी केन्द्र र एमालेले आफ्ना पार्टी सुदृढिकरणको प्रयास थालेका छन् ।
यसै सन्दर्भमा नेकपा माओवादी केन्द्रले पार्टीलाई व्यवस्थित र सुदृढ बनाउन भन्दै पार्टी कायकर्ता र जनतासँग सुझाव माग गरेको छ भने नेकपा एमालेले माधव पक्षलाई मिलाउन भन्दै १० सदस्यीय कार्यदल गठन गरेको छ ।

माओवादीले संगठनात्मक संरचनाको निर्माण गर्दा कुन विधि अपनाउने भन्नेमा बहस चलाउने भएको छ । २०७५ जेठ २ अघि माओवादीमा सर्वसम्मतको नाममा आफ्नालाई नेतृत्वमा पुर्याएर पार्टीमा लगानी भएका र इमान्दारलाई पाखा लगाइएको आरोप लाग्दै आएको थियो ।

यस्तो आरोपबाट मुक्ति पाउनका लागि माओवादीले नेतृत्व चयन गर्दा निर्वाचन, मूल्यांकन वा दुबैलाई समायोजन गरेर वा कसरी गर्नेभन्नबारे बहस चलाउने भएको हो । यो विषयमा टुंगोमा पुग्नका लागि प्रचण्डले आवश्यक सुझाव दिन पार्टीपंक्तिलाई आग्रह गरेका छन् ।

पार्टी पंक्तिबाट ४ सुझाव मागेका प्रचण्डले पार्टी प्रमुखको कार्यकारी पदमा रहनका लागि उमेरको हद राख्ने वा नराख्ने, राख्ने भए कति राख्ने, कार्यकालको सीमा राख्ने वा नराख्ने, राख्ने भए कति राख्ने, केन्द्रदेखि सबै समितिहरूको कार्यकारी प्रमुखका लागि यस्तो सीमा राख्ने कि नराख्ने वा फरक–फरक राख्ने जस्ता सुझाव पनि मागेका छन् ।

यसबाहेक प्रचण्डले जिल्ला समितिहरुलाई साविक झैं जिल्ला समितिमा रहन दिने वा जिल्ला समन्वय समिति बनाउने भन्नेबारे पनि सुझाव मागेका छन् ।

माओवादीमा लामो समयदेखि नेता–कार्यकर्तालाई उत्पादनसँग जोडिनुपर्ने आवाज उठ्दै आएको छ । तर, यो कार्यान्वयनमा जान नसकिरहेको अवस्थामा प्रचण्डले यसबारे पनि सुझाव मागेका छन् ।

प्रचण्डको सर्कुलरमा सुझाव माग गर्दै भनिएको छ, ‘पार्टीलाई उत्पादनसँग जोड्न के गर्नुपर्छ ? सहकारी र सामूहिक उत्पादन प्रक्रियालाई कुन रुपमा अघि बढाउन उपयुक्त हुन्छ वा सकिन्छ र ?’
माओवादी केन्द्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फेसबुक पजे सिएम प्रचण्डमार्फत जारी सार्वजनीक गरिएको अपीलमा सुझावको लागि भनिएको छ –
हाम्रो गौरवशाली पार्टी नेकपा (माओवादी केन्द्र) द्वारा आगामी दिनका लागि विचार, राजनीतिक, संगठनात्मक संरचना, घाइते अपॉग एवं शहिद परिवार लगायत नेता कार्यकताको आचरण अनि व्यवस्थापन र जिम्मेवारीको बारेमा नयॉ ढंगले अगाडी बढाउने सोच राखेकोले उचित राय सल्लाह सुझावको अपेक्षा गरिएको छ।
आफ्नो राय सल्लाह सुझाव तलको ईमेल ठेगानामा पठाऊनुहुन अनुरोध छ। cpnmcsujhav@gmail.com

 एमालेले बनायो १० सदस्यीय कार्यदल

त्यसैगरी नेकपा एमालेले पनि पार्टीभित्रको विवाद मिलाउन १० सदस्सीय कार्यदल गठन गरेको जनाएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता टुंग्याउन १० सदस्यीय वार्ता टोली गठन गरेका छन् । ओली र नेपालबीच सिंहदरबारमा आइतबार भएको वार्तामा दुवैतर्फबाट पाँच–पाँचजना सदस्य रहने गरी वार्ता टोली गठन गरिएको हो ।

वार्ता टोलीमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, विष्णु रिमाल, प्रदीप ज्ञवाली र शंकर पोखरेल रहेका छन् । नेपाल पक्षको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।
दुवै पक्ष सम्मिलित कार्यदल बनाउने भनिए पनि वरिष्ठ नेता नेपालले नेम्वाङ र रावलको नेतृत्वमा वार्ता टोली बनाइएको जानकारी दिए । टोलीमा पूर्वमाओवादी केन्द्रको रामबहादुर थापा ‘बादल’ समूहका नेताहरूलाई भने समेटिएको छैन ।

पूर्वएमालेभित्रको घरझगडा मिलाउने छलफलमा बादललाई राखिएकोमा नेपाल समूहले आपत्ति जनाएपछि प्रधानमन्त्री ओली पूर्वमाओवादी समूहविनैको वार्ता टोली बनाएर पार्टी एकताको एजेन्डा टुंग्याउन सहमत भएका हुन् । वार्तापछि पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा प्रधानमन्त्री ओलीले पार्टी मिल्ने बताए । ‘पार्टी मिल्छ,’ उनले भने । छलफलपछि नेता नेपालले पत्रकारहरूसँग भने, ‘मैले अघि सारेको ६ बुँदे प्रस्तावमा आधारित भएर पार्टी संरचनालाई २ जेठ ०७५ मा फर्काउन कार्यदल बनेको छ । सकभर तीन दिनभित्र काम सक्न भनिएको छ, तर समय पुग्दैन भन्ने पनि आएको छ । कार्यदलले छिट्टै काम सक्नेछ ।’

नेपाल पक्षले राखेको २ जेठ ०७५ सम्मको पार्टीको सांगठनिक संरचना, विधान र नेतृत्व कायम गर्नुपर्ने र आगामी दिनमा सहमतिको आधारमा अघि बढ्नुपर्ने माग सम्बोधनका लागि प्रधानमन्त्री ओलीले सहमति जनाएपछि एमाले विवाद समाधानउन्मुख छ । त्यसैबीच, प्रधानमन्त्रीले प्रतिनिधिसभामै बजेट प्रस्तुत हुने संकेत दिएका छन् । अध्यादेशबाट बजेट ल्याउने हो कि भन्ने पत्रकारहरूसँगको जिज्ञासामा ओलीले भने, ‘प्रतिनिधिसभा जीवितै छ ।’