बेइमानीले निम्त्याएको दुरावस्था
अक्सिजन नपाएर मानिसको ज्यान गइरहेको खबरकै बीच सत्ता परिवर्तनका लागि भइरहेका दगलफसलबारे न कसैलाई समाचार लेख्ने जाँगर छ, न त विश्लेषणप्रति भित्रैदेखि रुचि । सन्त्रास यत्रतत्र छ र यो सन्त्रास अचानक उत्पन्न भएको होइन ।
हो, महामारी त पूरै रोक्न सकिँदैन तर मान्छे तड्पीतड्पी मर्नुपर्ने यस्तो दर्दनाक अवस्था सरकारद्वारा जानीजानी, नालायकी र बेइमानीका कारण सिर्जना गरिएको हो । औषधि, अक्सिजन, सिलिन्डरको प्रबन्ध गर्न पर्याप्त समय, साधन र अवसर हुँदाहुँदै नगरिएको हो ।
वर्तमान दुरवस्था शतप्रतिशत सत्ता–अनुरक्त आकृतिहरूको अकर्मण्यताकै उपज हो । अकर्मण्यता त अकर्मण्यता भइगयो । त्यति मात्र होइन, यसबीच कोरोना प्रतिरोधी खोप आयात गर्न कति घीनलाग्दो गरी कमिसनको खेल भइरहेको रहेछ भन्ने यथार्थ उजागर भएको छ । अकर्मण्यताका साथै कमिसनकै खेलका कारण महामारीको दोस्रो लहरले विकराल रूप लिँदासमेत खोप आयात हुन नसकेको, अक्सिजनको अभाव हुन गएको वास्तविकतालाई कुनै पनि स्पष्टीकरणले छोप्न सक्दैन ।
नेपालको जनसंख्यालाई पुग्ने खोपको प्रबन्ध हुन नसक्ने थिएन, होइन । तीन महिनाभित्र सबैलाई खोप लगाइसक्ने भनेर प्रवचन दिने ओलीका लागि त्यसपछिका दिनमा खोपको प्रबन्धन प्राथमिकतामा कहिल्यै परेन । प्राथमिकतामा परेको हुन्थ्यो भने नेपालीहरूलाई पुग्दो खोप प्रबन्ध हुन नसक्ने भन्ने थिएन । रुस, अमेरिका, भारत र चीनसँग मंसिर–पुसयता तदारुकताका साथ पहल गरिएको भए देशलाई पर्याप्त हुने खोपको प्रबन्ध अवश्य हुन सक्थ्यो । पक्कै हुन सक्थ्यो ।
भारतले दस लाख र चीनले आठ लाख अनुदानमा दिएका र थप केही लाख भारतबाट किनेका खोपले बिराईबिराई काम चलाइँदै छ । यस अतिरिक्त नेपालसँग खोपको थप मौज्दात छैन र तत्कालै आयात हुने कुनै आश्वस्तता पनि छैन । खोपको पहिलो मात्रा लगाउने धेरैजसोले दोस्रो मात्रा लगाउन पाएका छैनन् । दोस्रो मात्रा लगाउन नपाएको कुरा जनता समाजवादी पार्टीका नेता तथा पूर्वस्वास्थ्यमन्त्री उपेन्द्र यादव स्वयंले प्रतिनिधिसभाको रोस्ट्रमबाटै सरेआम जाहेर गरेका हुन् ।
किन आएन खोप, के कारणले हुन सकेन प्रबन्ध भन्ने विषय लज्जास्पद छस पुनरुच्चारण गर्नै पनि योग्य छैन । तथापि उच्चारण नगरी धर छैन किनभने जनस्वास्थ्यमाथि क्रूरतम खेलबाड गर्ने कमिसनखोरहरूको आपराधिक कृत्यका कारण मानवता नै लज्जित हुन पुगेको छ । किन आयात नगरेको भन्दा कमिसनको खेलका कारण भन्ने तथ्य अब कसैबाट लुकेको छैन । जनजीवन घिटीघिटी भइरहँदा समेत खोप आयात गर्न कमिसन चाहियो । स्वयं बहालवाला ९यद्यपि औपचारिक रूपमा २७ गते ओलीसँगै मुक्त पद० स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले खोप आयात गर्न कमिसन नखाई नदिन भूतप्रेत लागेको भनेर कमिसनखोरहरूको चर्तिकला उद्घाटित गरिदिए । यस्तै कमिसनखोरलाई शास्त्रले द्रव्यपिशाच भनेको हो ।
यसबाट कतिपय प्रतिष्ठित भनिएका व्यापारीहरूसमेत मानिसको मृत्युमाथि टेकेर नाफाको कारोबार गरिरहेका र गर्न सक्दा रहेछन् र कतिसम्म लबस्तरा हुँदा रहेछन् भन्ने यावत् विषय उदांगिएको छ । व्यापारी त उदांगिए नै, तिनका सामु राज्य शासनको लाचारी देख्दा राज्य छ भन्न पनि नसकिने भएको छ । अझ घीनलाग्दो त के भने, कतिपय राजनीतिक र प्रशासनिक पात्रहरू तिनै व्यापारीसितको कमिसनको खेलमा मुछिएका तथ्यहरू सार्वजनिक भएका छन् । यसबाट देशको राजनीति र प्रशासन कतिसम्म कुहिएछ, भनेर भनिसाध्यै छैन । यस्ता घृणालाई पनि घृणा लाग्ने कुकृत्यरतलाई गाली गर्दा गाली आफैं लज्जित हुन्छ । गाली गरिएका शब्दहरू त्यस्ता द्रव्यपिशाच, नरपिशाचका निम्ति प्रयोग हुनुपर्दा किन उच्चरित हुनुपर्यो नि भनेर आफैं धुरुधुरु रुन थाल्छन् ।
अनि हेर्नुहोस् त राजनीति, यसै बेला, जब घाटहरूमा सामूहिक शव दहन भइरहेको छ, त्यति नै बेला विश्वासको मत प्राप्त गर्ने उपक्रम गरेको १ हो, विश्वासको मत प्राप्त गर्न नसकेर खड्गप्रसाद शर्मा ओली प्रधानमन्त्री पदबाट मुक्त भइसकेका थिए । उनलाई प्रस्टै थाहा थियो, विश्वासको मत प्राप्त हुँदैन भन्ने, तर यसै बखत जब देशमा महामारीले ताण्डव मच्चाइरहेको छ, उनले किन राखे विश्वासको मत लिने प्रस्ताव रु उनको आफ्नै विश्वास नभएको प्रतिनिधिसभासमक्ष विश्वासको आग्रह राख्नुको औचित्य के रु दुईतिहाइबाट एकतिहाइमा झरेको उनी आफैंलाई मज्जाले विदित थियो । उनले त आफैंले विघटन गरेको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले पुनःस्थापित गरिदिएलगत्तै अर्थात् २०७७ फागुन ११ को साँझ नै राजीनामा दिनुपर्थ्यो ।
त्यस्तै, फागुन २३ मा सर्वोच्च अदालतले नै २०७५ जेठ ३ मा भएको नेपाल कम्युनिस्ट पार्टी ९एमाले० र माओवादी केन्द्रबीचको एकतालाई बदर गरिदिएपछि पुनर्जागृत हुन पुगेको माओवादी केन्द्रले अविलम्ब ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएर उनलाई बालुवाटारबाट बालकोटतर्फ रवाना गर्ने मार्गप्रशस्त गरिदिनुपर्थ्यो । तर न ओलीले फागुन ११ लगत्तै राजीनामा दिए, न त प्रचण्डले फागुन २३ पछिका दिनमा समर्थन फिर्ता लिए । फागुन, भर चैत र वैशाखको २७ सम्म निरन्तर अनेक तिकडम गरिरहे, सबै पक्षले । ओलीले विश्वासको मत लिने घोषणा गरेपछि बल्ल प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन् । वास्तवमा विश्वासको मत लिने प्रकरण आफैंमा एउटा छद्म खेल थियो । यस खेलभित्रको रहस्य समयक्रममा उजागर हुँदै जानेछ ।
मंसिर–पुसतिर स्रोतसाधन जुटाएर खोपको प्रबन्ध गर्नतर्फ लाग्नुपर्नेमा ओलीले प्रतिनिधिसभा विघटन गरेर देशमा अवाञ्छित द्वन्द्व निम्त्याए । धर्ना र आमसभाहरू गरेर निरन्तर महामारीलाई निमन्त्रणा दिइरहे । सर्वसाधारणलाई सतर्कता अपनाउन जागरुक बनाउनुपर्नेमा लापरबाह बनाएर कोरोनाको दोस्रो लहर ल्याउने राजमार्ग नै तयार गरिदिए । सत्ता–राजनीतिको होडबाजीमा सीमानाका व्यवस्थापन र आवागमनमा पालन गर्नुपर्ने सबै प्रोटोकल गायब हुन पुगे जबकि बेलायततिर त्यसै बखत दोस्रो लहर प्रारम्भ भएको थियो र त्यो भारततर्फ लागेको आशंका गर्न थालिएको थियो ।
निश्चय नै, कोरोना भारतमा माघ–फागुनमा कहिले नियन्त्रित त कहिले वृद्धि भइरहेको थियो र मध्य चैतमा पुग्दा–नपुग्दै भारतमा त्यसको ग्राफ उकालो लाग्न सुरु भइसकेको थियो । त्यो नै परस्पर खुला आवतजावत भएको नेपालका लागि खतराको घण्टी थियो । चैत तेस्रो साता र त्यसभन्दा पनि अन्तिम सातातिरबाट भारतमा कोरोना दिन दुई गुना रात चौगुना वृद्धि भइरहँदा यता शिलान्यास, उद्घाटन, यात्रा र जात्रा गरिँदै थिए । भारतबाट मानिस अनियन्त्रित रूपमा फर्किरहेका थिए । त्यसपछि के भयो, जगजाहेरै छ ।
यावत् अवस्थाले भयावह भविष्यको सूचना दिइरहेका थिए र त्यति नै बेला हरिद्वार कुम्भ स्नान गर्न जानेले त्यताबाट फर्किंदा कोरोना लिएर आउँदै थिए । फलस्वरूप हवाइजहाजबाट आउनेले हवाइजहाजबाटै ल्याए । गाडीबाट आउनेले गाडीबाटै र पैदल आउनेले पैदलै । सम्भव हुने अवस्थामा समेत सतर्कता अपनाइएन । नअपनाउनुको एउटा कारण त फितलो व्यवस्थापन हो नै, त्यसमाथि सरकार प्रमुखकै आचरण र गैरजिम्मेवार प्रवचनका कारण मानिस लापरबाह भए ।
प्रधानमन्त्री नै कहिले नेपालीको रोग प्रतिरोधक क्षमता बलियो छ भन्दिने त कहिले भने बेसारपानीले नै कोरोना भाग्छ भन्ने अपुष्ट उद्गारका कारण सर्वसाधारण हदै लापरबाह हुन पुगे । भनिएकै छ– बडाले जो गर्यो काम, हुन्छ त्यो सर्वसम्मत । यो कथन यहाँ साक्षात् चरितार्थ भयो । तर बेसारपानी, अम्बाको पात उमालेर खाए कोरोना भाग्छ भन्ने ओली आफू भने उत्कृष्ट सुरक्षाकवचभित्र थिए, छन् । उनका कार्यकर्ता बिचराचाहिँ त्यस्ता बेतुकका प्रवचन पत्याएर बिनामास्क नारा लगाउँदै उफ्रिन प्रोत्साहित भए । एकातिर सरकार नै सतर्कता प्रोटोकल जारी गर्ने, अर्कातिर सरकार प्रमुखले आफैं हजारौंको भीड जम्मा गरेर रामसीताका मूर्तिको रथयात्रा गराउने, धरहरा उद्घाटन गर्नेजस्ता कार्यकृत्य गरेका कारण आज राजधानी उपत्यका नै कोरोनाको हटस्पट बन्न पुगेको छ ।
यस दुर्दान्त अवस्थामा राजनीति के कोल्टे फेर्छ भन्नेतर्फभन्दा पनि महामारी न्यूनीकरणमा तत्काल सशक्त तवरले भरपर्दो कार्यक्रमसहित क्रियान्वयनमा प्रस्तुत हुन सक्ने नेतृत्व चाहिएको छ । किनभने नेतृत्वले फरक पर्छ र पार्छ । धेरै फरक पार्छ । संयुक्त राज्य अमेरिकाकै उदाहरण हेरौं नस डोनाल्ड ट्रम्पका गलत नीति र प्राथमिकताले तहसनहस भएको अमेरिकी स्वास्थ्य प्रणाली जो बाइडेनले शासन सम्हालेपछि क्रमशः लयमा फर्किरहेको छ । त्यहाँ आउँदो असोजसम्ममा नयाँ किसिमको सामान्य अवस्था बन्ने अनुमान गरिएको छ ।
अमेरिकाको दृष्टान्त किनभने महामारी र अन्य विपत्तिबाट पूरै टाढा रहन नसके पनि सही र संवेदनशील नेताले धेरै हदसम्म महामारी नियन्त्रण र विपत्ति सामना गर्ने संयन्त्रलाई सक्रिय बनाउन सक्छ । तर अधिकांश बकवास र गैरजिम्मेवार व्यवहार गर्ने खालका मानिस शासनाधिकारी भएर बसेका छन् भने दुर्दशाबाट पार पाउन ज्यादै कठिन हुन्छ । त्यस्ता बकवासका एक उदाहरण हुन्, ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोस अर्का उदाहरण ट्रम्प थिए । यी दुईकै अनुकरण गर्ने नेताबाट थप दुर्दशा नै निम्तिन्छ, निम्तिएको छ ।
जनस्तरमा भय छ, त्रास र सन्त्रास छ । देश आज महामारीका कारण कहालीलाग्दो अवस्थामा फस्न पुगेको छ । यस दुरवस्थाबाट स्वतः पार पाइँदैनस सक्रिय हस्तक्षेप चाहिएको छ र त्यस्तो हस्तक्षेप, जसले प्रवचनले होइन कार्यद्वारा आशा र भरोसा जगाउन सकोस्, उपचारको प्रबन्ध मिलाउन सकोस्स सबैलाई खोप र जसरी हुन्छ स्वास्थ्य सुरक्षा प्रदान गर्न सकोस्स आज त्यस्तो नेतृत्व चाहिएको छ । समृद्धि आउला कुनै दिन, पहिला स्वास्थ्य सुरक्षा चाहियो र तत्काल चाहियो । समृद्धि त्यसपछिको कुरा हो । तत्कालै देशलाई आशा, भरोसा र आत्मबल जगाउनुका साथै प्रबन्धन, व्यवस्थापनको नेतृत्वसम्म लिन सक्ने साँच्चैको सरकार चाहिएको छ ।