पाेख्रेल पुन: मुख्यमन्त्रीमा नियुक्त : बहुमत भने पुगेन

मूलखबर संवाददाता
काठमाडौं

लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा नेकपा एमालेका नेता शंकर पाेखरेल पुनः नियुक्ति भएका छन् ।

प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई संविधानको धारा १६८ को उपधारा १ बमोजिम आइतबार मुख्यमन्त्रीमा नियुक्त गरेको प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिए ।

‘आज मिति २०७८ वैशाख १९ का दिन माननीय प्रदेश प्रमुख श्री धर्मनाथ यादवज्यूले नेपाल कम्युनिष्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता माननीय श्री शंकर पोखरेलज्यूलाई नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ,’ प्रवक्ता पौडेलले जारी गरेको विज्ञप्तिमा छ, ‘यस अघि नेपाल कम्युनिष्ट पार्टी (एमाले), लुम्विनी प्रदेश संसदीय दलका नेता माननीय श्री शंकर पोखरेलज्यूले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित माननीय प्रदेश प्रमुखज्यू समक्ष दावी पेश गर्नुभएको थियो ।’

पोखरेलले आइतबार नै मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । आइतबार नै उनको राजीनामा स्वीकृत भएको थियो ।

उनलेे राजिनामा दिएपछि एमाले सांसद विमला अाेलीले दल त्याग गरि माअाेवादी केन्द्र राेजेपछि पाेखरेलकाे बहुमत गुमेको हाे ।