गण्डकी प्रदेश सभाकाे बैठक अन्याैलमा, मनाङे मन्त्री
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध पेस भएको अविश्वास प्रस्तावमाथि मतदान हुने दिन राष्ट्रिय जनमोर्चाका सांसद ‘हराए’ पछि स्थगन गरिएको गण्डकी प्रदेशसभाको अर्को बैठक कहिले हुन्छ भने यकिन भएको छैन ।
आफ्नो पार्टीका सांसद खिमविक्रम शाही हराएको भन्दै राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले जीवनरक्षाको माग गर्दै निवेदन दिएपछि बुधबार सभामुखले बैठक अनिश्चितकालका लागि स्थगन गरेका छन् ।
मतदानका बेला मोबाइल स्वीच अफ गरी सम्पर्कविहीन भएका सांसद शाही पोखराकै चरक मेमोरियल अस्पतालको आईसीयूमा भेटिएका थिए । प्रदेशसभा सचिवालयले कार्यव्यवस्था परामर्श समितिको बैठक पछिमात्रै अर्को बैठकबारे टुंगो लाग्ने जनाएको छ । दलरूका अनुसार विशेष अधिवेशन सरकारले आफूखुसी अन्त्य गर्न पाउँदैन ।
‘अधिवेशन विषयवस्तु टुंगो लगाएर मात्र अन्त्य हुन्छ,’ कांग्रेस संसदीय दलका उपनेता मेखलाल श्रेष्ठले भने । संसद्मा अविश्वासको प्रस्ताव पास हुने अवस्था नआए तीनवटै दलले फिर्ता लिन सक्ने र पास हुने अवस्था आए अगाडि बढाउने उनले बताए । ‘अविश्वास प्रस्ताव फेल भए एक वर्षसम्म अर्को प्रस्ताव लैजान पाइँदैन,’ उनले भने, ‘पास हुने अवस्था नआए फिर्ता लिनुपर्ने हुन्छ । तर हामीले फिर्ता लिने विषयमा केही सोचेका छैनौं ।’ उनले अविश्वासको प्रस्ताव फिर्ता लिए पनि फेरि तत्काल दर्ता गर्न सकिने बताए ।
मुख्यमन्त्री गुरुङविरुद्ध कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वास प्रस्ताव पेस गरेका हुन् । यसको पक्षमा राजमोले पनि मतदान गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रका सांसद दीपक कोइरालाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल गरेपछि मात्र प्रक्रिया अघि बढाइने बताए । उनले सांसद शाहीलाई सत्तापक्षले नियतवश लुकाएको आरोप लगाए ।
संसद्मा शाहीको अवस्था र राजमोको निर्णय सार्वजानिक नभएसम्म बैठक अगाडि नबढ्ने उनको भनाइ छ । जसपाका सांसद हरिशरण आचार्यले पनि राजमोकै विषयवस्तु प्रस्ट हुनुपर्ने बताए । ‘सांसद एकाएक बेपत्ता हुनुको कारण सार्वजानिक गर्न छानबिन समिति बनाउनुपर्छ र यथार्थ बाहिर ल्याउनुपर्छ । वैचारिक रूपमा दरो मानिएको राजमोलाई अप्ठ्यारो भएको छ,’ उनले भने, ‘व्यक्ति पार्टी बाहिर गएका हुन् या कारण अर्कै हो बुझ्न जरुरी छ ।’
राजमो संसदीय दलका नेता कृष्ण थापाले भने बुधबारै मतदान प्रक्रिया अघि बढाउन भने पनि सभामुखले रोकेको बताए । उनले अविश्वासको प्रस्तावमाथि नै मतदान गर्ने पार्टीको निर्णय परिवर्तन नभएको बताएकाे खबर प्रतिक्षा
काफ्लेले कान्तिपुरमा लेखेकी छिन् ।