माओवादी केन्द्रकाे केन्द्रीय समिति बैठक : बादलसहितलाई कार्बाही, अरू के के गर्ला निर्णय ?

मूलखबर संवाददाता
काठमाडौं, १ चैत

आजबाट नेकपा माओवादी केन्द्रको केन्द्रिय समितिको बैठक बस्न लागिरहेको छ ।

अदालतको फैसलाबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट छुटिट्एका नेकपा एमाले र माओवादी केन्द्र मध्य केन्द्रको पहिलोपटक केन्द्रिय समिति बस्न लागेको हो ।

केन्द्रका एक स्थायी समिति सदस्यका अनुसार यो बैठकले पार्टी सुदृढिकरणको खाका कोर्ने छ भने एमालेमा प्रवेश गरेका राम बहादुर थापा बादल सहित २३ जनालाई कारवाही गर्नेछ ।

नेकपा विभाजन भएपछि स्थायी समितिका सदस्यहरु थापा, टोप बहादुर रायमाझि, मणी थापा, लेखराज भट्ट लगायतका २२ केन्द्रिय सदस्य एमालेमा प्रवेश गरेका छन् । यसअघि स्थायी समितिको बैठकले २४ घण्टाभित्र उनीहरुलाई आफ्नो अवस्था प्रष्ट पार्न भनेको थियो ।

उता एमालेको बैठक बसेर थापा, मणी थापा र लेखराज भट्टलाई प्रदेश इन्चार्जको जिम्मा दिइसकेको छ । उनीहरुले पनि माओवादी केन्द्रमा नफर्किने बताईसकेका छन् । उनीहरुमध्य राम बहादुर थापा राष्ट्रियसभा सदस्य छन् भने रायमाझि, भट्ट, गौरिशंखर थारु, प्रभु शाह लगायतका प्रतिनिधिसभाका सदस्य छन् । माओवादी केन्द्रले उनीहरुलाई प्रतिनिधिसभा तथा राष्ट्रियसभाबाट समेत कारवाही गर्ने तयारी गरेको छ ।

माओवादी केन्द्रले यसरी कारवाही गर्दा उनीहरुको सबै पद गुम्नेछ भने उक्त स्थानमा पुननिर्बाचन हुने संबैधानिक प्रावधान छ ।