सवैधानिक आयोगमा नियुक्तहरुले लिए सपथ, उपराष्ट्रपति र सभामुखद्वारा वहिष्कार, भोली आम हड्तालको घोषणा
संवैधानिक निकायका पदाधिकारीहरुको सपथ ग्रहण समारोह उपराष्ट्रपति र सभामुखले बहिस्कार गरेका छन् । कानूनी र राजनीतिक विवादका बीच भएको नियुक्ति र सपथ ग्रहण दुबै गैर संवैधानिक भएको भन्दै उनीहरुले वहिष्कार गरेका हुन् ।
बुधबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा भएको सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा अनुपस्थित भएका हुन् ।
सरकारले नियुक्ति सिफारिस गरेर संघीय संसदमा जानकारी पठाएको थियो । तर, संसदीय सुनुवाईको लागि प्रतिनिधि सभा भंग भइसकेकाले सुनुवाई सम्भव नभएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले आइतबार नियुक्ति सिफारिस फिर्ता गरिदिएका थिए ।
सरकारले गरेको गैर संवैधानिक नियुक्ति र कदमहरुको विरुद्ध नेकपा प्रचण्ड-माधव समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ ।
संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड(माधव समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्ने गर्दै भोलि आम हड्ताल गर्ने निर्णय गरेको हो ।
बुधबार पेरिस डाँडामा पत्रकार सम्मेलनको आयोजना गरेर संवैधानिक निकायमा गरिएको नियुक्तिको विरोधमा भोलि आम हड्तान गर्नुपर्ने अवस्था सिर्जना भएको नेता नारायणकाजी श्रेष्ठले बताए।
आम हड्ताल गर्नु आफूहरुको बाध्यता भएको श्रेष्ठले बताए। लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध सरकार अघि बढेको भन्दै ओली सरकारविरुद्ध सशक्त आन्दोलन गर्नुपर्ने श्रेष्ठको भनाइ छ।
साथै आम हड्ताल शान्तिपूर्ण हुने उनको दावी छ। परीक्षा दिन जाने विद्यार्थीहरुले प्रवेश पत्र देखाएमा आफ्ना सवारीसाधन चलाउन पाउने उनले बताए।
आम हत्यातालमा यातायात, पसल, उद्योग, व्यवसाय, कलकारखाना, शिक्षण संस्था बन्द हुने दाहाल–नेपाल समूहले जनाएको छ। अस्पताल, एम्बुलेन्स, पानी, दुध, औषधि लगायतका अत्यावश्यक सेवाहरु सञ्चालन गर्न पाइनेछ ।