राजधानीमा नेकपाले विशाल शक्ति प्रदर्शन गर्दै : कहाँ कसले नेतृत्व गर्ने ?

मूलखबर संवाददाता
काठमाडौं

नेकपाको प्रचण्ड-माधव पक्षले शुक्रबार सरकारविरुद्ध काठमाडौंमा हुने वृहत शक्ति प्रदर्शनको तयारी पूरा भएको जनाएको छ। नारायणकाजी श्रेष्ठ नेतृत्वको केन्द्रीय संघर्ष समितिले पत्रकार सम्मेलन गरेर प्रदर्शनको तयारीबारे जानकारी दिएको छ।

समितिले प्रत्येक प्रदेश, जिल्ला र जनवर्गीय संगठनलाई संख्या तोकेरै सहभागी जुटाउन निर्देशन दिएको छ। शनिबार बसेको केन्द्रीय संघर्ष समितिको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध उपत्यकाको विभिन्‍न स्थानमा जुलुशसहित दिउँसो १२ बजे रत्‍नपार्कमा प्रदर्शन गर्ने निर्णय गरेको थियो।

काठमाडौंमा विभिन्न ९ ठाउँबाट जुलुस निस्कने र प्रत्येक जुलुसको नेतृत्व स्थायी कमिटीका नेताले गर्ने भएका छन्। भट्टराईका अनुसार ती जुलुसहरु स्थायी समिति सदस्य तथा केन्द्रीय नेताहरुको नेतृत्वमा माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिवाटिका र बाल्मिकी क्याम्पसबाट सुरु हुनेछन्।

लगभग पूरै दिन प्रदर्शन गर्ने योजना बनाएको प्रचण्ड–माधव समूहले राजधानी उपत्यकाबाटै धेरै जनशक्ति उतार्ने तयारी गरेको छ । काठमाडौं, भक्तपुर र ललितपुरबाट निर्वाचन क्षेत्रस्तरीय क्लस्टर अनुसार, जनप्रदर्शनको तयारी गरिएको नेताहरु बताउँछन् ।

उपत्यका बाहेक काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, गण्डकी प्रदेश र प्रदेश २ का जिल्लाबाट समेत प्रदर्शनका लागि कार्यकर्ता राजधानी ल्याइएको छ । बिहान १०ः४५ बजेबाट शुरु हुने प्रदर्शन राजधानीका विभिन्न ९ स्थानमा शुरु हुनेछ ।

माइतीघर, डिल्लीबजार, लौनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, शान्तिबाटिका, त्रिचन्द्र कलेज र वाल्मिकी क्याम्पसबाट प्रदर्शन निकाल्ने तयारी गरिएको छ । माइतीघरबाट निस्कने प्रदर्शनमा काठमाडौं–१ र २, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, पेशागत संगठन, प्रेस संगठन, बुद्धिजीवी, प्राध्यापक, वकिल, इन्जिनियर र प्रदेश २ का जिल्लाबाट आउनेहरु सहभागी हुनेछन् । यो प्रदर्शनको अगुवाइ गणेश शाह, गिरिराजमणि पोखरेल, मातृका यादव, लिलामणि पोखरेल, हरिबोल गजुरेल र पेशल खतिवडाले गर्नेछन् ।

डिल्लीबजारबाट निस्कने प्रदर्शनमा काठमाडौं–३, ४ र ५ बाट आउने सहभागी हुनेछन् भने वर्षमान पुन र वेदुराम भुसालले अगुवाइ गर्नेछन् । लैनचौरबाट निस्कने जुलुसमा काठमाडौं–६ र ७, नुवाकोट र रसुवाका कार्यकर्ता सहभागी हुनेछन् । यो जुलुसको नेतृत्व भीम रावल, शक्ति बस्नेत र नन्दकुमार प्रसाईले गर्नेछन् ।

त्रिपुरेश्वरबाट निस्कने प्रदर्शनमा काठमाडौं–८, ९ र १०, धादिङ, चितवन, मकवानपुर र गण्डकी प्रदेशबाट आउने सहभागी हुनेछन् भने देवेन्द्र पौडेल, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले यसको अगुवाइ गर्नेछन् । कुपण्डोलबाट निस्कने प्रदर्शनमा ललितपुर, खेलकुद र सुकुम्बासी संगठनका सहभागी हुनेछन् । यो प्रदर्शनलाई कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त र नन्दकुमार थापाले नेतृत्व गर्नेछन् ।

प्रदर्शनीमार्गबाट निस्कने जुलुसमा सम्पर्क कमिटी, आदिवासी जनजाति र बाँकी सवै जनसंगठनकाहरु सहभागी हुनेछन् । यो प्रदर्शनको नेतृत्व घनश्याम भूसाल र जनार्दन शर्माले गर्नेछन् । शान्तिबाटिकाबाट मजदुरहरु प्रदर्शनमा उत्रनेछन् भने नारायणकाजी श्रेष्ठले त्यसको नेतृत्व लिनेछन् ।

त्रिचन्द्र कलेजबाट निस्कने विद्यार्थीहरुको प्रदर्शनको नेतृत्व देव गुरुङ, रामकुमारी झाँक्री, लेखनाथ न्यौपाने र हितमान शाक्यले गर्नेछन् । पेशागत क्षेत्रका सवै संगठनका कार्यकर्ताहरु वाल्मिकी क्याम्पसबाट प्रदर्शनमा उत्रनेछन् । यसको नेतृत्व अमृत बोहोरा, मुकुन्द न्यौपाने र विष्णुपुकार श्रेष्ठले गर्नेछन् ।

प्रदर्शनमा मुख्य नेतृत्वको सुरक्षाको जिम्मा राष्ट्रिय युवा संघलाई दिइएको छ । त्यसको अन्तिम तयारी विहीबार साँझै भइसकेको छ । राजधानीको प्रमुख सडक ठप्प बनाउने गरी प्रदर्शन गर्ने र रत्नपार्क पुगेर हुने आमसभालाई अध्यक्षहरु माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड, स्थायी कमिटी नेता घनश्याम भुसाललगायतले सम्बोधन गर्दैछन् ।

ती ठाउँहरुबाट सुरु हुने जुलुस रत्नपार्कमा जम्मा भई मुख्य जुलुसमा परिणत हुने उनले बताए। त्यसपछि सो सभालाई अध्यक्षद्वय प्रचण्ड र नेपाल लगायतका नेताहरुले सम्बोधन गर्नेछन्। भट्टराईका अनुसार जुलुस र विरोध कार्यक्रमका लागि २ हजार स्वयंसेवक परिचालित गरिनेछ।

प्रदर्शन शान्तिपूर्ण र मर्यादित हुने नेकपाले बताएको छ। तर आन्दोलनमा सरकारी पक्षबाट घुसपैठ गरेर विथोल्ने र हिंसात्मक बनाउने षड्यन्त्रप्रति सचेत हुनुपर्ने बताएको छ । संघर्ष समितिले बिहीबार पत्रकार सम्मेलन गरी प्रदर्शनमा सहभागी हुन सबैलाई अपील गरेको छ। आन्दोलनका थप कार्यक्रम पनि भोलिकै विरोध सभामा घोषणा गरिने बताइएको छ।

‘यो आन्दोलन नेकपाको मात्र नभई संघीय गणतन्त्रको पक्षमा रहेका सबैको भएको हुँदा सबै जनसमुदायको सहभागिताका लागि आह्वान गर्दछौं,’ बिहीबार आयोजित पत्रकार सम्मेलनमा पार्टीको केन्द्रीय संघर्ष समितिका तर्फबाट संयोजक नारायणकाजी श्रेष्ठद्वारा जारी गरेको आह्वानमा भनिएको छ।