केपीले झुटकाे खेती र नाटकमात्रै गरिरहेका छन् – प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं, २९ पुस

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी अाेलीले झुटकाे खेती र नाटक मात्रै गरिरहेकाेे बताएका छन् ।

काठमाडौंमा बुधबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘पार्टीले मलाई काम गर्न नदिएको हुँदा संसद् विघटन गरेँ भन्ने दाबी गर्दै आउनु भएको छ । पार्टीले कहाँ घेराबन्दी गर्‍यो ? पार्टीले कुन काममा बाधा हाल्यो । एउटा प्रमाण दिनुस्, चुनौती दिन चाहन्छु केपी ओलीलाई ।’

उनले संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान धरापमा भएको भन्दै त्यसको रक्षा गर्ने जिम्मेवारी आफूहरुको काँधमा आएको बताए । ‘हामी यहाँ प्रहसन देखाउन जुटेका छैनौं । हामी उखान टुक्का गरेर हसाउँ कमेडी सो गर्न उपस्थित भएका छैनौं । मानिसहरुलाई दिग्भ्रमित गर्न र उद्धेलित, उत्तेजित पार्न उपस्थित भएका छैनौं । राष्ट्र र जनताको अगाडि देखापरेको संकटलाई समाधान गर्न उपस्थित भएका छौं,’ दाहालले भने ।

निर्वाचन आयोग र सर्वोच्च अदालतसँग आफूहरु भरोसा कायम रहेको पनि दाहालले बताए । उनले केपी ओलीले संविधान मिचेजस्तै अन्य संवैधानिक निकायले पनि त्यही गर्न थाले जनताले हेरेर नबस्ने बताए ।

‘निर्वाचन आयोगको तर्फबाट विधिसम्मत हुन्छ, ढुक्क हुनुस् भन्नु भएको छ । पार्टीको नाम र सूर्य चिन्ह हाम्रै हुन्छ । यदि त्यस्तो भएन भने यहाँ आँधीहुरी आउँछ,’ उनले दाबी गरे, ‘केपी ओलीले संविधान मिचेजस्तै अरु संवैधानिक निकायले पनि त्यही गर्न थाले भने जनता हेरेर बस्न सक्छन् ? हेरेर बस्न सक्दैनन् । आँधीहुरी, बतास आउँछ । मैले निर्वाचन आयोग र सर्वोच्च अदालतप्रति अझै पनि भरोसा छ ।’