सर्वोच्च र निर्वाचन अायाेगबाट अाफ्नाे पक्षमा फैसला अाउनेछ – नारायणकाजी श्रेष्ठ

मूलखबर संवाददाता
काठमाडौं

नेकपा प्रबक्ता नारायणकाजी श्रेष्ठले संसद पुनःस्थापना पनि हुने र नाम र चुनाव चिन्ह पनि अाफुहरूले पाउनेमा ढुक्क रहेको बताएका छन् । नेकपा विभाजित भएको र संसद विघटनकाे विषय सर्वोच्च अदालत र नाम र चुनाव चिन्हकाे विषय निर्वाचन अायाेगमा विचाराधीन अवस्थामा रहेका बेला उनले साे विश्वास व्यक्त गरेका हुन् ।

काठमाडौंमा मंगलबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले संविधानअनुसार प्रतिनिधिसभा पुनःस्थापना हुनेमा आफूहरु ढुक्क रहेको बताएका हुन् । उनले संविधानको धारा ७६ को कुनै पनि उपधारामा संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको बताए ।

‘अहिलेको संविधानअनुसार संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन । हामी ढुक्क छौं प्रतिनिधिसभा पुनःस्थापना हुन्छ,’ श्रेष्ठले भने ।

सरकार बनाउन नसक्ने अवस्थामा संसद आफैं विघटन हुने तर बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद् विघटनको कुनै अधिकार नभएको उनको भनाइ थियो । प्रवक्ता श्रेष्ठले सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरोधमा आफूहरु संघर्ष गरिरहेको र अन्य दलहरुसँग संयुक्त संघर्षका लागि पहल जारी रहेको जानकारी दिए ।