रात्रिकालीन व्यवसाय सञ्चालन गर्न ठमेलका व्यवासायीको माग

मूलखबर संवाददाता
काठमाडौं, १८ मंसिर ।

ठमेल क्षेत्रका पर्यटन व्यवसायीले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् ।

कोरोना भाइरसका कारण आठ महिनादेखि बन्द रहेको रात्रिकालीन व्यवसाय सामाजिक मापदण्ड पालना गरी सञ्चालन गर्न पाउनुपर्ने माग गरेका हुन् ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले लामो समयदेखि बन्द रहेको ठमेलको रात्रिकालीन व्यवसाय अब पनि नखोल्ने हो भने रोगलेभन्दा भोकले मर्नुपर्ने अवस्था आउने बताए ।

ठमेलको रात्रिकालीन व्यवसाय पूर्णरुपमा खोल्नुपर्ने उनको भनाइ छ । अध्यक्ष राणाले ठमेललाई खुलाउनका लागि सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाउँदासमेत सुनुवाइ नभएकाले ठमेलका व्यवसायी विरोधमा उत्रिनुपरेको बताए।

ठमेल खोल्नका लागि सरकाले चाँडो निर्णय गर्नुपर्ने राणाले उल्लेख गरे ।