कर्णाली प्रदेशका मुख्यमन्त्रीद्वारा आफूविरुद्ध लाग्ने दल सचेतक वर्खास्त, नेपाली नियुक्त

मूलखबर संवाददाता
काठमाडौं, २६ असोज ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलाबजङ्ग शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट बर्खास्त गरी सिता नेपालीलाई प्रमुख सचेतकमा नियुक्त गरेका छन् ।

आफ्नै विरुद्ध अविश्वास प्रस्ताव ल्याउन सघाएको अभियोगमा शाहलाई बर्खास्त गरेका शाहीले कामकारबाही सन्तोषजनक नभएको भन्दै शाहलाई सोमबार प्रमुख सचेतकबाट हटाइएको विज्ञप्तिमार्फत जानकारी गराएका छन्।

मुख्यमन्त्री शाहीले सोमबार नै प्रमुख सचेतकको जिम्मेवारी प्रदेश सांसद सीता नेपालीलाई दिएका छन् । नेपाली यसअघि सचेतक थिइन् ।

शाहलाई हटाएर नेपालीलाई जिम्मेवारी दिइएको जानकारी पार्टी प्रदेश कमिटी र प्रदेश सभा सचिवालयलाई समेत जानकारी गराइसकेको मुख्यमन्त्री शाहीको सचिवालयले जनाएको छ।

आइतबारमात्रै नेकपाका १८ जना सांसद दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रमुख सचेतक शाहले सोमबार नै दलको बैठक बोलाएका थिए ।

पुर्व नेकपा एमालेका नेता तथा सांसद यमलाल कँडेलको नेतृत्वमा ३ जना माओवादी सांसदसहित १८ जनाले हिजो मुख्यमन्त्री शाही विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।
त्यसको असर केन्द्रमा समेत परेको थियो ।