पुर्वएमाले नेताकाे अगुवाइमा कर्णाली प्रदेश सरकारविरूद्व अविश्वास प्रस्ताव दर्ता

मूलखबर संवाददाता
सुर्खेत, २५ असाेज

कर्णाली प्रदेश सरकारविरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकै  पुर्व एमाले नेता तथा सांसद यमलाल कँडेललगायत १८ जना सांसदले आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

अविश्वासको प्रस्ताव दर्ता गर्ने सांसदहरूले महेन्द्रबहादुर शाही संसदीय दलको नेता चयन भएपछि संसदीय दलको प्रभावकारिता र सरकारको उपस्थिति फितलो भएको आरोप लगाएका छन् ।

प्रदेश सांसद यमलाल कडेलसहितका १८ जना सांसदहरुले हस्ताक्षरसहित संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका छन् । त्यसपछि सांसदहरुको टोली आइतबार दिउँसो नै प्रदेशसभा सचिवालय पुगेर प्रस्ताव दर्ता गराएको कडेलले जानकारी दिए ।

नेकपा सांसदहरूले नेकपा प्रदेश सभा संसदीय दलको विधान २०७५ को नियम २४ (१) अनुसार अविश्वासको प्रस्ताव दर्ता गरिएको पत्रकार सम्मेलन गरी बताएका छन् ।

उनीहरूले तत्काल विधानको नियम १, २, ३ र ४ अनुसार बैठक राखेर प्रस्तावलाई निर्णयका लागि पेस गर्न मागसमेत गरेका छन् ।

यसरी अविश्वासको प्रस्ताव पेस गर्नेमा यमलाल कँडेल, चक्रबहादुर शाही, करवीर शाही, कुर्मराज शाही, अम्मरबहादुर थापा, सुशीलकुमार थापालगायत १८ जना रहेका छन् ।

उनिहरूमध्ये ५ जना पुर्व माअाेवादीका सांसद रहेका छन् ।

कँडेल कर्णाली प्रदेशको मुख्यमन्त्रीको दाबेदारका रूपमा रहे पनि तत्कालीन एमाले र माओवादी केन्द्रबीच भागबन्डा हुँदा कर्णाली र सुदूरपश्चिम प्रदेश माओवादी केन्द्रको भागमा परेपछि उनले मुख्यमन्त्री पाएका थिएनन् ।

कर्णाली प्रदेशमा नेकपाका ३३ सांसद रहेका छन् ।