वायुसेवा निगममा हप्ता दश दिनमा सुधारको सङ्केत आउने- महाप्रबन्धक पौडेल

मूलखबर संवाददाता
काठमाडौं

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगममा रहेका आन्तरिक समस्या तथा विसङ्गतिलाई समाधान गर्दै छिटै सुधार गर्ने महाप्रबन्धक डिमप्रकाश पौडेलले बताउनु भएको छ ।

बिहीबारमात्रै मन्त्रीपरिषदबाट महाप्रबन्धकमा नियुक्त पौडेलले निगमभित्र अनेकौँ चुनौती रहेकोले रातारात सम्भव नभए पनि क्रमशः सुधार गर्दै लैजाने बताउनु भयो ।

 उहाँले भन्नुभयो ‘निगममा धेरै विसङ्गति छन् भन्ने सुनेको छु । रातारात परिवर्तन त आउँदैन तर हप्ता दश दिनमा सुधारको सङ्केत आउने छ । एक दुई महिनामा त त देखिने गरी गरौँला भन्ने छ । ’

कोभिडका कारण समग्र पर्यटन तथा नागरिक उड्ययन क्षेत्रमै चुनौती रहेको र निगमको हकमा पहिलेदेखि नै आन्तरिक चुनौती रहेकोले त्यसलाई समाधान गर्ने आफ्नो प्राथमिकता हुने उहाँको भनाइ छ । कोभिडकै कारण अब थप क्षति नहोस् भन्नेमा ध्यान दिँदै यसबीचमै आन्तरिक सुधारलाई अघि बढाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।
आन्तरिक उडानमा घट्दै गइरहेको निगमको उपस्थितिलाई बलियो बनाउँदै लगिने उहाँले बताउनुभयो । ‘नेपाल एयरलान्सप्रति जनताको एक किसिमको आशा भरोसा छ’ उहाँले भन्नुभयो ‘यसलाई कायम राख्दै दुर्गम क्षेत्रमा हवाई सेवा पु¥याउने राज्यको दायित्व पनि निगमले पुरा गर्नुपर्ने छ । ’

चार वर्षका लागि महाप्रबन्धक पदमा नियुक्त पौडेलले नेपालीको धेरै उपस्थिति भएको ठाउँमा निगमको अन्तर्राष्ट्रिय उडान सेवा विस्तारमा पनि काम गर्नुपर्ने चुनौती रहेको बताउनु भयो । अन्तर्राष्ट्रिय उडानका लागि अहिले निगमसँगै कम जहाज भएकोले यो चुनौती समाधान गर्नुपर्ने जिम्मेवारी रहेको पनि उहाँको भनाइ थियो ।

त्यस्तै निगमको बढ्दो ऋणलाई घटाएर अथवा सरकारको स्वामित्व निगममा बढाएर दायित्व कम गर्ने विषयमा पनि काम गर्नुपर्ने चुनौती रहेको उहाँले बताउनुभयो । हाल निगमकै सञ्चालक समिति सदस्य रहनुभएका पौडेल पेसाले चार्टड एकाउन्टेन्ट हुनुहुन्छ ।