राखेपमा ११ जना बोर्ड सदस्य नियुक्त (नामावली)

मूलखबर संवाददाता
काठमाडौं

सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा ११ जना बोर्ड सदस्य नियुक्त गरेको छ । साेमबार बसेको मन्त्रीपरिषद् बैठकले परिषद्का रिक्त ९ जना बाेर्ड सदस्य नियुक्त गरेको हो । राजनीतिक सहमती नबन्दा बोर्ड सदस्य नियुक्तिमा ढिलाई हुदै आएको थियो । मन्त्रीपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार ९ जना बोर्ड सदस्य नियुक्त गरेका हुन् । राजनीतिक सहमतीका आधारमा प्रधानमन्त्री ओलीले सदस्य नियुक्त गरेका हुन् ।

नयाँ बनेकाे बाेर्ड सदस्यमा हरी खड्का, मानदेव हजारा, पुरेन्द्र बिक्रम लाखे, राजेश गुरुङ, मोहमद सागिर शेख, नन्दा बस्याल, एकेन्द्र कुँवर, चन्द्रबदना राई, सुमित्रा चौधरी मनाेनित भएका छन् ।

प्रदेश एकका फुटबलर हरी खड्का खस आर्यबाट, प्रदेश दुईबाट मानदेव हजारा मधेशी दलित, प्रदेश ३ का पुरेन्द्र लाखे जनजातिबाट, गण्डकी प्रदेशबाट राजेश गुरुङ जतजातिबाट, प्रदेश २ का मोहमद सागिर शेख मुस्लिम समुदायबाट, कर्णाली प्रदेशबाट नन्दा बस्याल महिलाबाट, सुदुरपश्चिमबाट एकेन्द्र कुँवर पिछडिएको क्षेत्रबाट, प्रदेश एककै चन्द्र बदना राई महिलाबाट, प्रदेश ५ की सुमित्रा चौधरी थारु महिला कोटाबाट मनोनित भएका हुन् ।

परिषद् अध्यक्षको हैसियतमा मन्त्री विश्वकर्माले खेलकुद संघको सिफारिसमा रेनुका श्रेष्ठ, सुवर्णा श्रेष्ठलाई नियुक्त गरेका छन् । खेलकुद संघबाट आउने दुई महिला कोटा बाँकी थियो ।

ऐनको दफा ३ को २ को (ट) अनुसार खेलकुदको विकासमा महत्वपूर्ण योगदान गरेका प्रतिष्ठित व्यक्ति, राष्ट्रिय तथा अन्तराष्ट्रिय पूर्व खेलाडीहरु मध्य सबै प्रदेशबाट प्रतिनिधित्व हुने गरी महिला, दलित, आदिवासी जनजाती, खसआर्य, मधेसी, थारु, मस्लिम, पिछडिएको क्षेत्रको समेतबाट प्रतिनिधित्व हुने गरि कम्तीमा तीन महिला सहित सरकारले मनोनयन गर्ने व्यवस्था छ ।

तर यसमा मनोनयन गर्दा कम्तीमा ५० प्रतिशत सदस्य राष्ट्रिय तथा अन्तराष्ट्रिय पूर्व खेलाडीहरु मध्यबाट गर्नुपर्ने उल्लेख छ । सोही अनुसार मन्त्रीपरिषद्को साेमबारको बैठकले बोर्ड सदस्यको नियुक्त गरेकाे हाे ।

राष्ट्रिय खेलकुद विकास ऐनले ३७ जना बोर्ड सदस्यको व्यवस्था गरेको छ । ऐनको प्रावधान अनुसार युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले साउन १५ गते ६ जना बोर्ड सदस्य नियुक्त गरेका थिए ।

मन्त्री विश्वकर्माले परिषद् अध्यक्षको हैसियतमा रिम रानाभाट, इन्दिरा निरौला, गोविन्द्र भट्टराई, अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठलाई नियुक्त गरेका थिए ।

बिज्ञको रुपमा रिम रानाभाट र इन्दिरा निरौला, खेलकुद संघको सिफारिमा अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठ र पर्यतीय खेलकुद महासंघको प्रतिनिधिको रुपमा गोविन्द्र भट्टराईलाई बोर्ड सदस्य नियुक्त गरिएको थियो । नयाँ ऐन अनुसार राखेप सदस्य सचिवमा रमेश सिलवाल र उपाध्यक्षमा शिव काेइराला मन्त्रीपरिषदबाट नियुक्त भइसकेका छन् ।