जाजरकोटको जुनिचाँदेमा जीप दुर्घटना, वडाध्यक्षसहित ५ को मृत्यु, २ बेपत्ता

मूलखबर संवाददाता
जाजरकोट, २१ असोज ।

जाजरकोटको जुनिचाँदेमा यात्रुवाहक जीप सडकबाट ५ सय मिटर तल खसेर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता भएका छन् ।

मृत्यु हुनेमा जुनिचाँदे गाउँपालिका९११ का अध्यक्ष अमरबहादुर शाही, सोही गाउँपालिका वडानम्बर ११ का कृतिबहादुर शाही, खेमबहादुर शाही, वडानम्बर ५ का मालिका बस्नेत र कृष्णबहादुर शाही रहेको डीएसपी श्रेष्ठले जानकारी दिए ।

सदरमुकाम खलङ्गाबाट आज बिहान गएको यात्रुवाहक जीप दिउँसो जुनीचाँदे९१ काप्रामा सडकबाट तल खोलामा खसेको प्रहरीले जनाएको छ ।

जाजरकोट प्रहरी प्रमुख किशोरकुमार श्रेष्ठका अनुसार दुर्घटनामा पाँच जनाको मृत्यु भएको र एक जना घाइते भएको खबर आएको छ । दुर्घटनाको खबर आउनेबित्तिकै प्रहरी घटनास्थलतर्फ गएको उहाँले बताउनुभयो ।

प्रहरी घटनास्थलमा पुगेपछि घटनाको विस्तृत विवरण आउने उहाँको भनाइ छ । जम्मा कति जना सवार थिए भन्ने कुराको जानकारी नआएको प्रहरी प्रमुख श्रेष्ठको भनाइ छ ।