बैरागीलाई मुख्यसचिव, रेग्मी र खतिवडा राजदूत बनाउने सरकारको निर्णय

मूलखबर संवाददाता
काठमाडौं, १५ असोज ।

सरकारले मुख्य सचिवमा शंकर बैरागीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
त्यस्तै अमेरिकाका लागि नेपाली राजदूतमा डा. युवराज खतिवडाको नाम सिफारिस गरेको छ भने बेलायतका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मीको नामा सिफारिस गरेको महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बताउनुभयो ।

वैरागी हाल परराष्ट्र सचिव हुनुहुन्छ भने लोकदर्शन रेग्मी मुख्यसचिव हुनुहुन्छ । त्यस्तै डा।खतिवडा केही समय पहिलेसम्म अर्थमन्त्री रहनुभएको थियो ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको गुरुङले जानकारी दिनुभएको हो ।

मुख्यसचिवका लागि वैरागीसहित, केदारबहादुर अधिकारी, मोहनकृष्ण सापकोटालगायत दाबेदार थिए । ३ वर्षे कार्यकाल पूरा गरी आगामी कात्तिक ३ गते अवकाश पाउने रेग्मीले त्यसको दुई साताअघि नै राजीनामा दिएका थिए ।

रेग्मीलाई बेलायतको राजदूत नियुक्त गर्न मन्त्रिपरिषदले सिफारिस गरेको छ । राजदूतहरुको नियुक्ति संसदीय सुनुवाइको प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट हुने कानुनी व्यवस्था छ । पूर्वअर्थमन्त्री डा. खतिवडालाई कार्यकाल सकिएलगत्तै सरकारको प्रमुख आर्थिक सल्लाहकार बनाइएको थियो ।