नेपालमा कोरोना : ८८५ डिस्चार्ज भए, १५७३ थपिए, १९ हजार १९ सक्रिय संक्रमित

मूलखबर संवाददाता
काठमाडौं, ११ असोज ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा एक हजार पाँच सय ७३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज अपरान्ह पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा आठ सय ८५ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । गौतमले हाल देशभर १९ हजार १९ सक्रिय कोरोना संक्रमित रहेको जानकारी दिए ।

स्वास्थ्य विज्ञहरुले सक्रिय संक्रमित २५ हजार कटेमा लकडाउन गर्नुपर्ने सुझाव दिएका छन् ।

देशभर हालसमम कुल ५३ हजार आठ सय ९८ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले देशमा कोरोना निको हुने दर ७३.४ प्रतिशत रहेको पनि जानकारी दिए ।

हाल देशभर होम आइसोलेसनमा १० हजार ६ सय ९८ जना रहेको उनले जानकारी दिए । अहिलेसम्म नौ लाख ८८ हजार तीन सय २७ जनामा कोरोना परीक्षण गरिएको उनले जानकारी दिए ।

अहिले ६ हजार दुई सय ८१ जना क्वारेन्टिनमा बसिरहेको मन्त्रालयले जानकारी दिएको छ । अहिले भेन्टिलेटरमा देशभर ३३ जना उपचाररत रहेको उनले बताए ।